पूर्व डीआइजी शाह र खाद्य संस्थानका महाप्रबन्धक श्रेष्ठ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

48

छिनछिन खबर
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) महेशविक्रम शाह र नेपाल खाद्य संस्थानका पूर्व महाप्रवन्धक शिवकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुबै जनाले सार्वजनिक पदमा रहेका बेला भ्रष्टाचार गरको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा डीआइजी शाहले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको २०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६ र ८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबि भरपाइमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको अख्तियारको दावी छ । अख्तियारले तीनैजना विरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल खाद्य संस्थान तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठ र खरिद इकाई प्रमुख खड्गबहादुर ज्ञवालीले धान कुटान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

श्रेष्ठ र ज्ञवालीमाथि २ लाख ३८ हजार ९ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । खाद्य संस्थान शाखा कार्यालय भैरहवामा प्रतिघण्टा १ मेट्रिक टन धान कुटान गर्ने राइस मिल जडान गर्ने र अन्य निर्माण काम गर्नुपर्नेमा सो नगरी महाप्रबन्धक श्रेष्ठदेखि फाँटवाला कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो ।

तत्कालीन महाप्रबन्धक श्रेष्ठले संस्थान र एमएन इन्टरनेशनलबीच शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि २०७२ जेठ २८ गते भएको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Womui
Womui