‘वर्तमान सरकारले सरकार नभई सत्ता चलाउन थाल्यो : गगन थापा

140

नेपालगन्ज, फागुन ७-

नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान दुई तिहाई सरकारले सरकार मात्र नभई सत्ता चलाउन थालेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसलाई यतिखेरको डर, चिन्ता भनेको नेकपाले दुई तिहाइको सरकार बनायो भन्ने होईन, नेकपाले तीन चौथाई बनाउन पनि पाउँछ, पाँच वर्ष मात्र होईन, पचास पटक जित्यो भने उसले चलाउन पाउँछ, प्रश्न हाम्रो नेपाल कम्युनिष्ट पार्टीले सरकार होईन, सत्ता चलाउन थाल्यो ।’

प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार बदलिएपनि सत्ता नबदलिने नेता थापाले बताए । ‘प्रहरी, अड्डा अदालत, प्रशासन, संसद सबै कुरालाई कब्जा गरेर एउटा ब्यक्तिले चलाउने कुरा यसबाट निर्माण भएको सत्ता हामीले परिकल्पना गरेको होईन,’ उनले थपे । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आम जनताको भरोसा नेपाली कांग्रेसप्रति नै रहेको बताइन् । कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन कांग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष सुधान्सु कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता, सांसद, पुर्वसांसद लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । विपी स्मृती पुस्तकालय बुधबारबाट नै सञ्चालनमा आइसकेको छ । उक्त पुस्तकालयमा करिव साढे ५ सय पुस्तक राखिएको प्रतिष्ठान बाँकेका सचिव तोजिन्द्र बिकले जानकारी दिए । उक्त पुस्तकालय नेपाली कांग्रेस बाँकेलाई बुधबार नै हस्तान्तरण गरिएको छ । प्रतिष्ठानले नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित कार्यसमिती पदाधिकारी तथा पुस्तकालय स्थापना गर्नमा सहयोग पुर्याउने ब्यक्तीलाई सम्मान गरेको थियो ।

 

 

 

Womui
Womui