एशियाकै धनी मुकेश अम्बानीका भाइ अनिल टाट पल्टिए

20

गल्फ न्यूज
कुनै समय विश्वकै धनाढ्यमध्ये एक रहेका भारतीय ब्यापारी अनिल अम्बानी टाट पल्टिएका छन् । उनले बेलायतस्थित अदालतमा आफ्नो नेट वर्थ ’जिरो’ भएको बयान दिएका हुन् । तीनवटा चिनियाँ बैंकहरुको ७ सय मिलियन डलर भन्दा बढी रकम नतिरेकोमा ती कम्पनीले भुक्तानीका लागि अनिललाई बेलायती हाइकोर्टमा तानेका थिए ।

अदालतमा न्यायाधीश समक्ष उनले भने–’मेरो नेट वर्थ जिरो छ। मसँग कुनै अर्थपूर्ण सम्पत्ति पनि छैन जसलाई बेचेर यो सबै ऋण भुक्तानी प्रक्रियामा जान सकियोस्।’ अनिलको बयानपछि अदालतका न्यायाधीश डेबिड वाक्समेनले उनलाई १०० मिलियन डलर ६ हप्ताभित्र कोर्टमा जम्मा गर्न आदेश दिएका छन्। अनिलले यसका लागि पनि अदालतमा अपील गर्ने योजना बनाएको बताइन्छ । अनिलका वकिल रोबर्ट होवेले कोर्टले आफ्ना क्लाइन्टसँग उनले तिर्न नसक्ने रकम जम्मा गर्न आदेश दिनु नहुने तर्क गरे ।

चीनको इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनाका प्रतिनिधि ब्यानकिम थान्कीले अनिलको बयानलाई ’अवसरवादी’ किसिमको भनेका छन्। बैंकले जारी गरेको विज्ञप्तीमा अनिलको तर्फबाट अदालतको आदेशको पालना हुने विश्वास ब्यक्त गरेको भनिएको छ । इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना आइसीबीसी, चाइना डेभलपमेन्ट बैंक तथा एक्पोर्ट इम्पोर्ट बैंक अफ चाइनाले रिलायन्स कम्युनिकेसन्न (आरकम) लाई दिएको ऋण फिर्ता नपाएको भन्दै बेलायती अदालतमा अम्बानीलाई तानेका हुन्।

आरकम हाल टाट पल्टिएको घोषणाको प्रक्रियामा रहेको छ । चिनियाँ बैंकहरुले यो ऋणका लागि अम्बानीले निजी ग्यारेन्टी दिएको भनेपनि यसलाई अनिलले गलत भन्दै आएका छन्। अनिलले निजी ग्यारेन्टीमा रिलायन्स कम्युनिकेसन्सका लागि सन् २०१२ मा ९ सय २५ मिलियन डलर ऋण लिएका थिए । कुनै बेला भारतीय टाइकुन मानिने ६० वर्षका अनिल हाल एशियाकै धनाढ्य मुकेश अम्बानीका भाई हुन्। उनले लामो समय अवधिमा कारोबारमा अर्बौं डलर गुमाएको बताइन्छ ।

Womui
Womui