‘प्रमाण भए मन्दिरको जग्गा छोड्न तयार छौं’

152

बागेश्वरी गुठी जग्गा प्रकरण

छिनछिन खबर (नेपालगन्ज, माघ २२)–
बागेश्वरी गुठीको जग्गा विभिन्न समयमा विभिन्न व्यक्तिका नाममा पास भएको ठहर गर्दै इन्द्रपुर साबिक ३क मा पर्ने ८४ बिगाहा जग्गा मन्त्रिपरिषद्बाट रोक्का गरिएको निर्णयविरुद्ध साबिकको इन्द्रपुर ३क करमोहना, मुक्तिपुर र कोरियनपुरका जग्गाधनीहरुले चरणबद्ध रूपमा आन्दोलन गर्दै आइरहेका छन् । बुधबार हजारौंको संख्यामा निस्किएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय हुँदै वीपीचोक नेपालगन्ज उपमहानगरपालिका अगाडि कोण सभामा परिणत भएको थियो ।


जिल्ला प्रशासन कार्यालय अघि भएको कोणसभालाई सम्बोधन गर्दै करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिका प्रवक्ता सन्तकुमार बर्माले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पुर्खौदेखि जोतभोग गर्दै आएको आफ्नै जग्गालाई बागेश्वरी गुठीको जग्गा भन्दा दुःख लागेको जनाउँदै भने,‘सिडियो साब हामीलाई मन्दिरको जग्गा चाहिँदैन् । पुर्खौदेखि भोगचलन गर्दै आएको जग्गा बागेश्वरी गुठीको हो भने हामीलाई मन्दिरको जग्गा चाहिँदैन । पुर्खौदेखि नेपाल सरकारको नियम अनुसार तिरो तिरेर भोगचलन गर्दै आइरहेको हाम्रो जग्गा मात्रै हामीले मागिरहेका हौं ।’
सरकारी निकायले बागेश्वरी गुठीको जग्गा जाँचबुझ गर्न असहयोग गरेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणासँग भएको वार्तालापलाई सम्झँदै प्रवक्ता बर्माले प्रमुख जिल्ला अधिकारीलाई मन्दिरको जग्गा पत्ता लगाउने कार्यमा नेपालगन्ज उपमहानगरपालिकाका मेयरलाई सघाउनसमेत अनुरोध गरे ।


जिल्ला मालपोत कार्यालय स्थापना हुनु भन्दा पहिले नेपाल सरकारका विभिन्न निकायलाई तिरो तिरेर भोगचलन गर्दै आएको जग्गा तत्कालीन सरकारको निर्णय बमोजिम इति संवत् १९३३ सालदेखि हालसम्म जग्गाधनीकै नाममा भएको करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिका अध्यक्ष तुलाराम कुर्मीले बताए । ‘नयाँ मुलुक स्थापनापश्चात् हाम्रा पुर्खादेखि हामीले जोतभोग गर्दै आएको जग्गालाई कुन आसामीको कति हो भन्ने कुरा विक्रम संवत् १९६७/६८ दुई वर्ष लगाएर जिल्ले नयाँ मुलुक बाँके मन्सफी कचहरीले तयार गरेको अडसठ्ठामा सम्पूर्ण विवरण भएकाले हामीले भोगचलन गर्दै आएको जग्गा हाम्रो होइन भने कसको हो ? अध्यक्ष कुर्मीले प्रश्न गर्दै भने,‘ सरकारले हाम्रो मौलिक हक किन हनन गर्दैछ ?’
आन्दोलनमा,‘गुठी रैतानी जग्गा हाम्रो हो । रैतानी गुठी पीडित एक हौं । मन्त्रिपरिषद्को निर्णय खारेज गर, जगत देउजा मुर्दाबाद । लोकतन्त्र मुर्दाबाद’लगायतका नारा लगाइएको थियो ।

Womui
Womui