प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९१ वर्षको उमेरमा निधन

93

नेपालगन्ज, माघ १५-
वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचा’ को ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बुधबार बेलुका साढे ८ बजेतिर उनको निधन भएको हो । वरिवारका अनुसार गुप्ता अचेत भएपछि अस्पताल पुर्याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गुप्ताका पुत्र विजय गुप्ताका अनुसार कमजोर शरिरका कारण हिड्न नसक्ने भएपछि उनी विगत तीन वर्षयता घरमै आराम गरिरहेका थिए ।

कमजोर स्वास्थ्य अवस्थाले गर्दा उनी विभिन्न समस्याबाट पीडित थिए । छोरा विजयका अनुसार विगत एक महिनादेखी प्रेस स्वतन्त्रता सेनानी गुप्ताको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको थियो । नेपालगन्ज न्युरोडस्थित छोरा विजयकै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी बान्ता आएर अचेत भएका थिए ।

तत्कालै नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चाचाकै नाति डा. दिपेश गुप्ता आएर चेकजाँच गरे । उनकै सल्लाहमा अस्पताल पुर्याए लगत्तै चाचाको मृत्यु भएको छोरा विजयले बताएका छन् । गुप्ताको पार्थिव शरिरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । उनको बिहीबार अन्त्यष्टी गर्ने यसअघि तय गरिएपनि पन्चक परेकाले शुक्रबार बिहान १० बजे अन्तेस्टी गर्ने परिवारले जनाएको छ । उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ता स्थानीय किरण साप्ताहिकका सम्पादक थिए । उक्त पत्रिका नेपालगन्जबाट विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशन हुदै आएको छ ।

पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले करिव डेढ दशक अघि प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य (मनोनित) भइसकेका प्रेस स्वतन्त्रता सेनानी गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र युनियनका केन्द्रिय संस्थापक सदस्य हुन् । युनियन बाँके शाखाले संस्थापक अध्यक्षको चाचाको सम्मान स्वरुप तीन वर्षअघि ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरिदिएको थियो । यस्तै युनियन बाँकेले चाचालाई रथारोहन सहित नेपालगन्जमा भब्य नागरिक अभिनन्दन समेत गरिदिएको थियो । चाचाको निधनबाट नेपालगन्जले ठुलो क्षति ब्यहोरेको छ । यहाँका पत्रकार, नागरिक अगुवा, राजनीतिककर्मी लगायत सबैले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

Womui
Womui