प्रजातन्त्रको सूचकाङ्कमा नेपाल ९२ औं स्थानमा

102

एजेन्सी–विश्वभरका प्रजातन्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ । बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को मद्दतमा प्रत्येक वर्ष डेमोक्रेसी इण्डेक्स जारी गर्दै आएको छ ।

युनिटले १६५ देशको बारेमा प्रतिवेदन जारी गरेको छ । जसको आधारमा नेपालले पाँच स्थान सुधार गरेको हो । नेपाललाई सन् २०१९ को सूचकाङ्कमा ९२ औँ स्थानमा राखिएको छ । यसअघि सन् २०१८ मा नेपाल ९७औँ स्थानमा थियो । इन्टेलिजेन्स युनिटले नेपालको बारेमा भनेको छ, ‘नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार सन् २०१९–२०२० सम्म रहनेमा आशा गर्दछौँ । चीन र भारतसँगको सम्बन्ध सन्तुलित गर्नु नेपालको विदेश नीतिको लागि महत्वपूर्ण हुनेछ । पूर्वानुमान अवधिमा यी दुवै देशको वित्तीय सहायताबाट नेपाललाई फाइदा पुग्नेछ ।

सन् २०१९–२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन ९जीडीपी० वृद्धि ७ प्रतिशत औसत रहने अनुमान छ र यो निजी खपत र निश्चित लगानीबाट सफल हुनेछ । तर ठूलो मात्राको व्यापार घाटा नीति निर्माताहरुका लागि चिन्ताको विषय बनि रहनेछ ।’ उक्त रिपोर्टअनुसार भारतलाई भने यो पटक निकै ठूलो झड्का लागेको छ । भारत प्रजातन्त्रिक मुलुकहरुको सूचीमा १० स्थान तल झरेको छ । यसअघि ४१ औं स्थानमा रहेको भारत यो पटक भने ५१ औं स्थानमा पुगेको छ ।

लोकतान्त्रिक मुलुकहरुको पहिलो नम्बरको सूचीमा भने नर्वे आएको छ । १६५ वटा देशहरुको सूचीमा पाकिस्तान १०८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ । रिपोर्टमा अमेरिका २५ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ९ औं स्थानमा रहेको छ । त्यस्तै जापान २४ औं स्थानमा रहेको छ भने इजरायल २८ औं स्थानमा रहेको छ । चीन १५३ औं स्थानमा रहेको छ भने बेलायत १४ औं स्थानमा रहेको छ ।

रिपोर्टमा सन् २०१९ लाइ खराब वर्षका रुपमा इङ्गित गरिएको छ । प्रजातन्त्रिक सुचांकमा विशेषगरी ल्याटिन अमेरिका, अफ्रिका र पश्चिम एसियामा गिरावट आएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अधिकांश एसियाली मुलुकमा पनि सुचांकमा गिरावट आएको उल्लेख गरिएको छ ।

Womui
Womui