‘इरानी मिसाइलले युक्रेनी विमान खसालेको हामीसँग प्रमाण छ’

28

एजेन्सी
ओटावा–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसहित केही पश्चिमी राष्ट्रका केही नेताहरुले इरानको क्षेप्यास्त्र हमलाबाट युक्रेनी विमान खसालिएको दाबी गरेका छन् ।


उनीहरुले इरानले इराकस्थित सैनिक क्याम्पमा क्षेप्यास्त्र हमला गर्दा युक्रेनको यात्रु विमान गल्तीका कारण खसालिएको प्रमाण आफूहरुसँग रहेको पनि दाबी गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विमान दुर्घटनाको सम्पूर्ण जाँच र छानबिन गर्न माग गरेका छन् । बुधबार बिहान यूक्रेनको एक यात्रुबाहक विमान तेहरान विमानस्थलबाट उडेको केहीबेरमा नै दुर्घटना हुँदा १ सय ७६ जनाको मृत्यु भएको थियो ।

क्यानडाका प्रधानमन्त्री ट्रूडोले भनेका छन्, ‘गुप्तचरबाट प्राप्त जानकारीले संकेत दिन्छ कि यूक्रेनका विमान इरानको जमिनबाट हावामा हानिने मिसाइलका कारण हिट भएर दुर्घटनाग्रस्त भएको थियो । तर यो जानाजान गरिएको होइन ।’ उनले भने, ‘यो बारेमा पर्याप्त छानबिन भयो भने सत्य खुल्ने छ । यो क्यानडाका मानिसहरुको मनमा उब्जेको प्रश्न हो र यसको जवाफ दिइनुपर्छ ।’ उनले अहिले कसैमाथि आरोप लगाउनु हतार हुने बताए । तर उनले इरानी क्षेप्यास्त्र हमलाबाटै विमान खसेको थप प्रमाणबारे केही बताएनन् ।

विमान दुर्घटनामा मारिएका १७६ जनामध्ये ६३ जना क्यानडाका नागरिक रहेका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रूडोको भनाईमा सहमति जनाएका छन् । उनले बेलायत र क्यानडा एक अर्कासँग मिलेर काम काम गरिरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी सञ्चारमाध्यमले पनि इरानले गल्तीले युक्रेनी विमान खसालेको दाबी गरेका थिए । इरानले भने यो आरोप अस्वीकार गरेको छ ।

Womui
Womui