कर्णालीमा छोरी सुरक्षा कार्यक्रम सुरु

59

छिनछिन खबर
कालीकोट–छोरीको भ्रुण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम सुरु गरिएको छ । छोरी सुरक्षा कार्यक्रम कालीकोटबाट सञ्चालनमा ल्याइएको घोषणा गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिला हिंसा र जातीय विभेदको प्रमुख कारण आर्थिक विपन्नता भएको बताए ।
‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने पक्षलाई सफल बनाइने उल्लेख गर्दै मुख्यमन्त्री शाहीले महिला आर्थिक रूपमा कमजोर भएकै कारणले अन्यायमा पर्ने गरेको बताए ।

खाँडाचक्र नगरपालिका–२ मान्म कालीकोट निवासी दर्शना दमाईका चारमहिने छोरी जानकी परियार र सोही नगरपालिका–१ का रतना सुनारका दुईमहिने छोरी जमुना सुनारलाई बैङ्क खाता खोल्न एक हजार रुपैयाँको चेक दिएर उनले कार्यक्रम शुभारम्भ गरे । मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए ।

विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने दाबी गरे । सरकारले कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक÷एक नमुना विद्यालय निर्माणका साथै अब प्रदेशका १७ लाख ७० हजार नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्म गरिएको उनले बताए ।

सामाजिक विकासमन्त्री दल रावलले मानव पुँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए । उनले चालू आर्थिक वर्षको साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत तीन करोड ८४ लाख रुपियाँ प्रदेशले स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न एक हजार र प्रतिमहिना पाँच सय रुपियाँका दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जानकारी दिए ।

Womui
Womui