जो बने ठगेरै अर्बपति !

30

काठमाडौं– दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन् । ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।


मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ। कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरे ।

धिमाल अहिले सुकुम्बासीजस्तै बनेका छन्। एक बिघा ८ कठ्ठा जमिन धितो राखेर कोइरालाले १७ लाख रुपैयाँ झिके। उनले पैसा फिर्ता गरेनन् । बैंकले जग्गा लिलामी गर्‍यो । इटहरीकी लक्ष्मी भट्टराईलाई उनले ६ वर्षअघि आमा बनाए । कोइरालाले भट्टराईलाई ठग्न माइलो छोराको नाता लगाए। बेलाबेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्टसमेत पुर्‍याउँथे । प्रशस्त जग्गा–जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके ।

पाँच वर्षलाई भनेर झिकिएको पैसा भट्टराईले फिर्ता पाउनु त परै जाओस् उनले सम्पर्कसमेत गर्न पाइनन् । कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई डुबाएका छन् । जग्गा–जमिन र गाडी सहकारीमा राखेर पटक–पटक गरी १० करोड रुपैयाँ कर्जा लिएका कोइराला किस्ता तिर्नै गएनन्। सहकारी सञ्चालक केदार महर्जनले अहिले प्रहरी गुहारेका छन्। बा.१९च ८८४५ नम्बरको टोयटाको प्राडो गाडी चढ्ने कोइरालाले आफूलाई धनाढ्य र हाइ प्रोफाइल देखाउन काठमाडौंमा घर किनेका छन्।

आफूले चढेको गाडीको समेत उनले पैसा चुक्ता गरेका छैनन् । इस्ट लिंक मोटर प्रालिलाई रकम चुक्ताका लागि कोइरालाले प्रभु बैंकको चेक पटक–पटक दिए। तर, सबै चेक बाउन्स भयो। अहिले यो कम्पनीलाई कोइरालाले ५ करोड ९६ लाख तिर्नु छ। उनले ओम साइराम बिजनेस लिंकबाट उनले कार्यालय सञ्चालनका लागि भन्दै १ करोड ५५ लाख बराबरको सामान लिएर गए। तर, अहिलेसम्म उनी तिर्न पुगेका छैनन् । कोइलाको ठगी धन्दा यतिले मात्रै टुंगिँदैन।

उनले खोटाङका श्याम खड्कालाई जापान पठाइदिन्छु भनेर १९ लाख रुपैयाँ ठगे। कोइरालाले एक महिलालाई पत्नी बनाएर उनको पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याए। ती महिलाको एक छोरासमेत छन्। अहिले ती महिला करोडपतिबाट सडकमा झरेकी छन् । अन्नपूर्ण पोष्टबाट

Womui
Womui