५२ पदमा धमाधम उपनिर्वाचन

111

छिनछिन खबर
काठमाडौं– देशका ३७ जिल्लामा ५२ पदका लागि शनिवार बिहान ७ बजेदेखि उपनिर्वाचनको मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह गरी ५२ स्थानमा उपनिर्वाचन भइरहेको हो ।

संघीय संसद्का लागि कास्की–२ मा निर्वाचन भइरहेको छ भने प्रदेशसभाका लागि भक्तपुर र दाडमा निर्वाचन भइरहेको छ । निर्वाचनका लागि २ सय ४७ मतदानस्थलमा मतदान भइरहेको छ । मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताएका छन् ।

गण्डकी प्रदेशको कास्की २ मा ११ राजनीतिक दल र स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी चुनावी मैदानमा छन् ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुँदै छ ।

प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । दाङ र पोखरामा अज्ञात समूहले निर्वाचनलाई लक्षित गरी बम विस्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

Womui
Womui