चार महिनामा ४ खर्ब ८६ अर्बको वैदेशिक व्यापार, कुन देशसँग कस्तो कारोबार ?

139

छिनछिन खबर
काठमाडौं–चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ३६ अर्ब २७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।


चालु आवको यो अवधिमा वैदेशिक व्यापारमा आयातको वृद्धिदर घट्दै गएको छ भने निर्यातको वृद्धिदर बढ्दै गएको छ । गत आवको सोही अवधिको तुलनामा आयात करिब ७ (६.९२) प्रतिशतले आयात घट्दा २३.९० प्रतिशतले निर्यात बढेको छ । गएको आवको सोही अवधिमा चार खर्ब ८३ अर्ब ७५ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका थियो भने २९ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । कुल वैदेशिक व्यापारमा आयात साढे ९२ प्रतिशत र निर्यातको हिस्सा साढे ७ प्रतिशत रहेको छ । चालु आवको सो अवधिमा ४ खर्ब १४ अर्ब व्यापार घाटा रहेको छ । गत आवको सो अवधिमा यस्तो व्यापार घाटा ४ खर्ब ५४ अर्ब थियो । चार महिनाको यो अवधिमा भारतबाट सबैभन्दा बढी आयात भएको छ भने बढी आयात हुने दोस्रो सूचीमा चीन र तेस्रोमा इन्डोनेशिया परेको छ ।

यस वर्षको पहिलो चौमासमा भारतबाट नेपालबाट २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएका छ भने चीनबाट ८० अर्ब १८ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा नेपालबाट २४ अर्ब २६ करोड मूल्यका वस्तु भारतमा गएका छन् । चीनमा भने नेपालबाट ७१ करोडको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा इन्डोनेशियाबाट नेपालमा १३ अर्ब ५८ करोड मूल्य बराबरको वस्तु आयात भएको छ ।

Womui
Womui