कोहलपुरमा निर्वाचन आचार संहिता उल्लंघन

200

कोहलपुर, मंसिर ११-
कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचनको मिति नजिकिदै गर्दा आचार संहिता उल्लंघन सम्बन्धी घटना बृद्धि हुन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता, कार्यकर्ताले मंगलबार बेलुका ७ बजेपछि रझेना गाउँमा घरदैलो गरिरहेको फेला परेपछि नेपाली कांग्रेसले असन्तुष्टी जनाउँदा विवाद उत्पन्न भएको थियो । नेपाली कांग्रेसका युवा नेता फुलाराम थारुका अनुसार नेकपाका नेताहरु नरेन्द्र न्यौपाने, पुजन बिश्वकर्मा, तुलाराज बिष्ट, खिलप्रसाद भुसाल लगायतको टोली घरदैलोका लागि बा ११ च ८३४ नम्बरको कार तथा मोटरसाईकलमा पुगेका थिए ।

‘रातको समयमा गाउँमा पसेर पैसा बाँड्ने उनीहरुको योजना रहेछ, हाम्रा साथीहरुले थाहा पाएर खबर गरेपछि हामी पुग्दा उनीहरु प्रहरीको स्कटिङका साथ आएका रहेछन्,’ थारुले भने ‘हामीले प्रतिवाद गर्न खोजेपछि उनीहरुलाई प्रहरीले भगाईहाल्यो ।’ निर्वाचन आचार संहिता विपरित रातको समयमा पैसा बाँड्ने नियतले नेकपाका नेताहरु रझेना गाउँमा आएको प्रतिवाद गर्दा प्रहरीले उल्टै आफ्ना २ जना कार्यकर्तालाई पक्राउ गरेर केहीबेर थुनेको उनले सुनाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेलुका ७ बजेपछि कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाउने भन्दै कडाई गरिरहेको छ ।

प्रचार-प्रसार गर्न बेलुका ७ बजेपछि नेकपाका नेताले प्रयोग गरेको कार ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता नरेन्द्र न्यौपानेले भने कांग्रेसले उल्टै निर्वाचन आचार संहिता विपरित घरदैलो गरिरहेको कुरा बाहिर आएपछि विवाद मिलाउन आफुहरु त्यहाँ गएको दाबी गरेका छन् । ‘पहिला नेपाली कांग्रेसका केही ब्यक्तिहरुले रातमा घरदैलो गरिरहेको कुरा बाहिर आएपछि हामी केही साथीहरु ीववाद मिलाउने उद्देश्यले त्यहाँ मोटरसाईकल चढेर गएका थियौं,’ उनले भने । बा ११ च ८३४ नम्बरको कार कस्को हो त ? भन्ने प्रश्नमा उनले अनविज्ञता प्रकट गरे । बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले नेकपाले सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने रणनीति बनाईरहेको बताएका छन् । ‘सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने, मतदातालाई पैसा बाँड्ने नेकपाको रणनीति छ,’ उनले भने ‘प्रहरीले पनि उनीहरुलाई संरक्षण गरिरहेको छ ।’

कांग्रेसले प्रतिवाद गरेपछि नेकपाका नेताहरुलाई भगाउँदै प्रहरी ।

तस्बिर : फुलाराम थारु

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी हेम शाहीले मंगलबार राती नेकपा र नेपाली कांग्रेसबीच सामान्य विवाद भएको बताए । ‘यो सामान्य विवाद हो, दुबै पक्षको अडान निर्वाचन आचार संहिता उल्लंघन भएको भन्ने थियो,’ उनले भने । यही मंसिर १४ गते स्थानीय सिद्धार्थ निम्न माध्यामिक बिद्यालय रझेनामा हुन लागेको उप–निर्वाचनका लागि दलहरुले आफ्ना उम्मेदवारलाई मैदानमा उतारेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले श्रीकृष्ण थारु, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले रामशरण थारु, राप्रपाले श्रीधर सुवेदी, समाजवादी पार्टीका शोभाकर पोखरेल र नेपाल मजदुर किसान पार्टीले दिपालक्ष्मी हमाललाई वडाध्यक्षका लागि अगाडी सारेको छ । यहाँ कुल २ हजार २६ जना मतदाता रहेका छन् ।

Womui
Womui