पूर्वमन्त्री आलमलाई जेल चलान गर्न अदालतको आदेश

108

छिनछिन खबर
रौतहट–जिल्ला अदालतले पूर्वमन्त्री तथा निलम्बित सांसद मोहमद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ को उपदफा १ को ख बमोजिम मुद्दा सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।


१२ वर्षअघि बम विस्फोटन गराएको आरोपमा परेको सो मुद्दामा यही २१ कात्तिकदेखि थुनछेक बहस सुरु भएको थियो । बहसमा सरकारी वकिलको कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवाल, उपन्यायधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्यायाधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिलको कार्यालय पर्साका उपन्यायधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिलको कार्यालय रौतहटका सहन्यायधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

जाहेरवालाको तर्फबाट आठ जना वरिष्ठ कानुन व्यवसायीहरूले बहस गरेका छन् । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, डा. कुमार शर्मा आचार्यलगायतले बहस गरेका थिए । आलमको तर्फबाट भने पूर्वमहान्याधिबक्ता रमण श्रेष्ठलगायत २८ जना कानुन व्यवसायीले बहस गरेका थिए । २०६४ चैतमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएर मारेको अभियोगमा आलमविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो ।

Womui
Womui