जम्मू–कश्मीरमा हिमपात, दुई सैनिकसहित ६ को मृत्यु

27

कार्तिक २२ । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ ।यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको छ । श्रीनगर–जम्मू राजमार्ग पनि बन्द भएको छ । श्रीनगरको लानगेट इलाकामा लो भिजिविलिटीका कारण सेनाको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा राइफलम्यान भीमबहादुर र गनर अखिलेश कुमारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कुपवाडामा हिमस्खलनका बीच सेनाको पोष्टमा सामान ढुवानी गर्ने क्रममा थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको नाम मन्जुर अहमद र इशाक खान रहेको खुलेको छ । त्यस्तै, श्रीनगरको विद्युत विमागका एक कर्मचारी र हबाक क्षेत्रमा एक अन्य व्यक्तिको पनि मृत्यु भएको छ । श्रीनगर विमानस्थलका अधिकारीहरुले खराब मौमस र भिजिबिलिटीमा समस्या आएपछि सबै उडान रद्द गरिएको जानकारी दिएका छन् । आगामी २४ घण्टासम्म यस हालतमा सुधारको सम्भावना रहेको छैन । मौसम विभागले भारी हिमपातको चेतावनी दिएका छन् ।

अधिकारीहरुले बिहीबार बिहान रनवे सफा गरेर उडान सञ्चालन गर्ने प्रयास गरे पनि हिमपातका कारण त्यो पूरा हुन पाएन ।पीर पञ्जलमा रजौरीस्थित मुगल रोड पूर्णरुपमा बन्द भएको छ । यातायात विभागका अधिकारीले न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीष्मकालिन राजधानी श्रीनगरको गुरेज, माछिल, केरन र तंगधारजस्ता दुरदराजका क्षेत्रलाई जोड्ने सडक पूर्णरुपमा बन्द भएका छन् । राजमार्गमा २ हजारभन्दा बढी सवारी फसेका छन् ।

अधिकारीहरुका अनुसार श्रीनगरमा बिहीबार बिहानसम्म ११ सेमी हिमपात भएको थियो भने काजीगुंडमा १२ सेमीसम्म हिमपात भएको थियो ।
एजेन्सी

Womui
Womui