ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

217

छिनछिन खबर
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । यस्तै, युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् ।


पारस खड्काले असोज २८ गते कप्तानी छाडेयता टिम कप्तानविहीन थियो । ज्ञानेन्द्रले यसअघि पारसको अनुपस्थितिमा विभिन्न प्रतियोगितामा कप्तानी सम्हालिसकेका छन् । उनले २०१७ मा आईसीसी विश्व च्याम्पियन लिगअन्तर्गत टियु ग्राउन्डमा भएको केन्याविरुद्धका दुवै खेलमा नेपालको कप्तानी गरेका थिए । यस्तै, २०१७ मै भएको एसीसी इमर्जिंङ टिम कपमा पनि ज्ञानेन्द्रले कप्तानको भूमिका निर्वाह गरेका थिए ।

दुई महिनाअघि भएको आईसीसी टी२० एसिया कप छनोटमा पनि पारस घाइते भएपछि ज्ञानेन्द्रले नै मलेसियाविरुद्ध कप्तानी सम्हालेका थिए । घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले विभिन्न फ्रेन्चाइज टिमको नेतृत्व सम्हाल्दै आएका छन् । ज्ञानेन्द्रकै कप्तानीमा ललितपुर प्याट्रीयोट्स गत संस्करणको एभरेस्ट प्रिमियर लिग च्याम्पियन बनेको थियो ।

यसैगरी, दीपेन्द्रले पनि उपकप्तानको अभिभारा पहिलोपटक सम्हाल्न लागेका होइनन् । उनले सिंगापुर र जिम्बाब्वेविरुद्धको त्रिकोणात्मक सिरिज तथा ओमानविरुद्धको टी२० सिरिजमा उपकप्तानको भूमिका निर्वाह गरेका थिए । यसअघि उनी यु–१९ टिमको कप्तान थिए । नोभेम्बर २०१७ मा यु–१९ एसिया कपमा भारतलाई १९ रनले पराजित गदैै ऐतिहासिक जित निकाल्दा दीपेन्द्र नै कप्तान थिए ।

यस्तै, गत वर्ष दीपेन्द्रकै कप्तानीमा सीवाईसी अत्तरियाले धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो । सन् २००९ मा पहिलोपटक राष्ट्रिय टिमको कप्तान बनेका पारसले एक दशक नेपाली टिमलाई नेतृत्व प्रदान गरे । उनकै कप्तानीमा नेपालले टी२० विश्वकप खेलेको थियो भने ऐतिहासिक एकदिवसीय मान्यता समेत पाउन सफल भयो ।

Womui
Womui