आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

485

रिपेश दाहाल
हेटौंडा–माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र रमाउन आउन थालेका हुन् ।

चितवनको सौराहा, मकवानपुरको दामन पालुङ्ग, मकवानपुरगढी, शहीद स्मारक, कष्माण्डा सरोवरलाई लक्ष्य गरेर घुम्न आउने नेपाल तथा भारतका थुप्रै पर्यटक हेटौंडास्थित संरक्षण केन्द्रमा पनि आउन थालेका छन् । माछाको उत्पादन गर्ने उद्देश्य लिएको केन्द्रमा पर्यटकको आकर्षण बढ्न थालेपछि पर्यटकीय व्यवस्थापन गरेर दोहोरो फाइदा दिन सकिने देखिएको छ ।

छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन देखेपछि नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर आजभन्दा ५२ वर्षअघि तत्कालीन सरकारले हेटौंडामा व्यावसायिक माछापालन केन्द्र स्थापना गरेको थियो । स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र ध्यान दिएको केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रुपमा ह्याचरीमार्फत भुरासमेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो ।

सङ्घीयता कार्यान्वयनसँगै हाल मत्य विकास केन्द्रबाट प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा परिणत भएको छ । यहाँ वर्षमा करोडौं माछाका भुरा उत्पादन र बिक्री हुन्छन् । मौसमअनुसार यहाँका सुन्दर पोखरीमा दुर्लभ प्रजातिका कयौं चरा विचरण गर्न आउने गर्छन् । सारस, चखेवालगायत दर्जनौं प्रजातिका हाँस एवं अन्य चराले भरिभराउ पोखरी अवलोकन गर्न बेलाबेलामा चराप्रेमी यहाँ आउने गर्छन् ।

त्यसबाहेक विगतमा साँझ बिहान टहलिन आउने स्थानीय तथा आक्कलझुक्कल आन्तरिक पर्यटक पनि देखिन्थे । पछिल्लो केही महिनादेखि भने मत्स्य विकास केन्द्रका पोखरीमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पहिले पहिले पनि यहाँ घुइँचो लागेको र लाम लागेको त देखिन्थ्यो तर त्यो भीड वर्षमा दुईरचार पटक माछा मार्दा माछा किन्न आउनेको हुन्थ्यो तर, आजभोलिको भीड अर्कै हो । यहाँको सौन्दर्यले मोहित भएर घुम्न र रमाउन आउनेको भीड बढेको छ अचेल । एकहत्तर बिघा क्षेत्रफल भएको मत्य विकास केन्द्रलाई चिरेर दुई भागमा पारिएको छ ।

हेटौंडालाई काठमाडौँंसँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्ति राजपथ हो । त्यो चिरा मध्यबाटोको दक्षिणपट्टिको भाग बाटोबाट स्पष्ट देखिन्छ । चार वटा पोखरी भएको त्यो भागले अचेल धेरैलाई आफूतर्फ आकर्षण गर्ने गरेको छ । अझ भर्खरै बनेको सडक र सडकपेटीले त्यो क्षेत्रलाई अति सुन्दर बनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सडक पेटीमा फूल रोपेपछि त साँच्चै नै मनोरम पार्क झैँ बनेको यो स्थानमा सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सयौं प्रकृतिप्रेमीहरु आउन थालेका छन् । “कति आउँछन् यकिन छैन तर, धेरै आउँछन्,” केन्द्रका प्रमुख सानुकाजी पछाईँले भने, “हामी शुल्क लिँदैनौं र आउने जानेको दर्ता वा टिपोट गर्दैनौँ । त्यसैले तथ्याङ्क हामीसंँग छैन ।”

मत्स्य विकास र अनुसन्धान मात्र कार्यादेश भएकाले पर्यटनको पाटोको हेक्का नराखेको उनको भनाइ छ । तर, पर्यटकको भीड देख्दा भने व्यवस्थापन गर्न सके दोहोरो उपलब्धि लिन सकिने उनलाई लाग्छ । स्थानीयवासीको भनाइअनुसार यहाँ बिहान र बेलुका गरेर दैनिक ५०० भन्दा बढी स्थानीय तथा आन्तरिक पर्यटक आउने गर्छन् । नगरपालिकाले सडक पेटीलाई व्यवस्थित बनाएर आकर्षक फूल रोपेपछि पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको केन्द्रलाई अझ आकर्षक बनाउन आवश्यक सहकार्य गरिने हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत बताउँछन् ।

हेटौंडालाई फूलै फूलको शहर बनाउने योजनाअनुसार पोखरीको किनारमा रहेको सडक पेटीमा फूल रोपिएका छन् । हेटौंडा नगर नै सुन्दर बनाउने योजनाअनुरुप काम गरिएको उनी बताउँछन् । कृषि तथा माछापालन एवं माछाको अनुसन्धान गर्नेहरुका लागि पनि यो केन्द्र आकर्षक बन्दै गएको पाइएको छ । बुटवल घर भई हेटौंडाको जनप्रिय प्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन एनिमल साइन्स’ अध्ययन गर्ने मनीष पौडेलका लागि यो केन्द्र धेरै कुरा सिक्ने ठाउँ बनेको छ ।

“यहाँ मैले माछाको जीवनचक्रका बारेमा अवलोकन गर्ने र सिक्ने अवसर पाएको छु, विशेषतः माछाको प्रजनन्का चरण सिक्न र व्यावसायिक जीवनमा कसरी उतारिन्छ भन्ने जान्न यहाँ आउने गरेको छु,” उनले भने । विसं २०२४ मा स्थापित यो केन्द्र हेटौंडा–५ मा अवस्थित छ । केन्द्रले माछाको अध्ययन, अनुसन्धान तथा उत्पादन समेत गर्ने उद्देश्यले यहाँ साना ठूला ४३ वटा पोखरी निर्माण गरेर माछापाल्ने, भुरा उत्पादन गर्ने र माछामाथि अनुसन्धान गर्ने काम थालेको थियो ।

वर्षमा कम्तीमा तीन पटक यहाँ माछा निकालिन्छ । तराईको भन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने बेला माछा किन्न अघिल्लै दिनदेखि टोकन लिएर लाम लाग्नुपर्ने हुन्छ । माछाका भुरा पनि देशका थुप्रै स्थानमा लगिने प्राविधिक सहायक अवधेश कुमार सिंह बताउँछन् । पचहत्तर बिघा क्षेत्रफलमा फैलिएको केन्द्रले यो वर्ष ६ करोडभन्दा बढी एक दुई दिनका साना (जिराको दाना जत्रो) भुरा ३५ लाख एक इञ्चका भुरा र १५ लाख हातका औंला आकारका भुरा बिक्री वितरण गर्ने लक्ष्य रहेको केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार यो लक्ष्य शुरुका वर्षभन्दा बढी हो तर अब भने समस्या शुरु भएको छ । शुरुमा स्थानीय घट्टे कुलोलाई आधार बनाएर स्थापित केन्द्रलाई हेटौंडा उपमहानगरपालिकामा भइरहेको तीव्र विकास र जनसङ्ख्या वृद्धि र घट्टे कुलोको वरिपरि बनेका घरले यहाँको पानी अनधिकृत रुपमा पाइप जोडेर लगेपछि पानीको स्रोत आधाभन्दा बढी सुकेको छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल पनि गरेको तर, समस्या पूर्ण रुपमा समाधान भइनसकेको उनले बताए ।

ती समस्या समाधान गरेर अगाडि बढ्न सके धेर तिरबाट लाभ लिन सकिने उनको बुझाइ छ । ठूलो क्षेत्रफल, आकर्षक भू–बनोट, सुन्दर पोखरीसँगै घना जङ्गलसहितको स–साना पहाडले घेरेको मत्स्य विकास केन्द्र पुग्ने जो कोही पनि आफूलाई केहीबेर यहीँ हराउन चाहन्छ । यसको संरक्षण, सम्बर्द्धन र बहुआयामिक प्रयोगमा जोड दिने हो भने धेरैतिरबाट लाभ लिन सकिने जानकारहरु बताउँछन् । यहाँको जङ्गल कालो र खैरो रङ्गको सालकका लागि प्रसिद्ध छ ।

यसबाहेक रतुवा, चित्तल तथा सुन गोहोरो जस्ता वन्यजन्तुको बासस्थान समेत रहेकाले मत्स्य विकास केन्द्र रहेको हेटौंडा–५ र सँगैको पिप्लेपोखरा सामुदायिक वन, न्युरेनी सामुदायिक वन र रानी सामुदायिक वन, मकवानपुरगढीको वनक्षेत्र र मनकामना मन्दिरसमेत समेटेर चरा तथा वन्यजन्तुको संरक्षण केन्द्र बनाउन सकिने वन विज्ञान अध्ययन संस्थानका प्रमुख प्रा कृष्णप्रसाद दाहाल बताउँछन् । हजारौं किलोमिटरको यात्रा तय गरेर बसाइँ सरेर यहाँ आउने चराको अध्ययन र खोजी गर्न चाहने विश्वभरिका चराविद्का लागि पनि मत्स्य विकास केन्द्र राम्रो गन्तव्य हुनसक्ने हुँदा प्रचारप्रसारमा जोड दिइनु पर्ने दाहालको तर्क छ । रासस

Womui
Womui