ओलीले धोका दिएको प्रचण्डको गुनासो

31

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो । एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो ।

त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ । दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए । दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए । पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेका थिए । पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित छ ।

समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्वएमाले समूह पनि असन्तुष्ट देखिन्छ । आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनिरहेको छ । यसै सेरोफेरोमा दाहालले पोखरेलसँग भेटघाट गरेका हुन् । दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए। नेपाल–गौतमबीच ‘धोका’ को राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो । दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै निवासमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका छन् । गौतमले पार्टी अध्यक्ष ओलीले आफूलाई प्रस्तावित उपाध्यक्ष भनेको तर स्थायी कमिटीको बैठक बोलाएर अहिलेसम्म अनुमोदन नगराएको भन्दै दुखेसो पोखेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक भदौमा सिंगापुर उपचारमा जानुअघि दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । दाहालले त्यसक्रममा एउटा सचिवालयको बैठकसमेत राखेर अन्तरपार्टी निर्देशन जारी गर्ने र केन्द्रीय सदस्यहरू थप गर्ने निर्णय गराएका थिए । दाहालले त्यसपछि पार्टी आफूले र सरकार ओलीले सञ्चालन गर्ने सहमति भएको दाबी गर्दै आफूनिकट नेताहरूलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका थिए । तर सिंगापुरबाट फर्केर आएपछि ओलीले दाहाललाई त्यस्तो कुनै मौकै दिएनन् ।
-नागरिक दैनिकबाट

Womui
Womui