फर्निचर बनाउने होइन, फलाउने हो, कसरी ?

72

एजेन्सी
लण्डन–टेबल, कुर्सीजस्ता साना फर्निचर हामी काठकै मन पराउँछौँ । यस्ता फर्निचर बनाउन थुप्रै मेहनत गर्नुपर्छ । पहिले रुख काट्नुप¥यो । त्यसपछि त्यसलाई चिरान गर्नुप¥यो । अनि बल्ल कर्मीहरुले आफ्नो कला प्रस्तुत गर्दै त्यसलाई ग्राहकको अर्डरअनुसार फर्निचरको रूप दिन्छन् । यस्ता फर्निचर किन्दा निकै महँगो हुन्छन् । अर्कोतर्फ मेहनत पनि धेरै पर्छ । बेलायतका एक दम्पतीले भने यस्ता फर्निचर उमार्न थालेका छन् भन्दा अचम्म लाग्न सक्ला । तर वास्तविकता यही हो ।


गेबिन र एलिस मुनरो नाम गरेका ती दम्पतीले फर्निचरको आकारमा बोटबिरुवा उमार्न थालेका हुन् । उनीहरुले अहिलेसम्म २५० वटा कुर्सी, १०० स्ट्यान्ड ल्याम्प र ५० वटा टेबल उमारिसकेका छन् । गेबिन भन्छन्, ‘यसरी फर्निचरको आकार दिएर बोटबिरुवा उमार्दा कमभन्दा कम बोटबिरुवा काट्नुपर्ने हुन्छ, जसले वातावरण र पर्यावरण संरक्षणमा पनि सघाउ पुग्छ ।’

कुनै ४०–५० वर्ष पुरानो रुख काटेर त्यसलाई टुक्राटुक्रा पारेर फर्निचर बनाउनुभन्दा यसरी सुरुदेखि नै हुर्किंदो बोट–बिरुवालाई फर्निचरका आकार दिएर उमार्दा उत्तम हुने गेबिन बताउँछन् ।गेबिनका अनुसार यी फर्निचर थ्रीडी प्रिटिङजस्ता हुन्छन् । जसलाई अलगअलग आकार दिइन्छ । उनी सम्झन्छन्, ‘मैले मेरो घरआँगनमा एउटा सानो बिरुवा लगाएँ, त्यो पछि निकै ठूलो भयो तर कुर्सीजस्तो आकारमा । अनि मेरो दिमागमा यसरी पनि फर्निचर उमार्न सकिन्छ भन्ने जुक्ति आयो ।’ गेबिनका अनुसार यसरी फर्निचर उमार्ने कामको सुरुमा सन् २००६ मा गरिएको थियो ।

उनले आफ्नै घरमा पहिलोपटक दुईवटा कुर्सी उमारेका थिए । त्यसपछि सन् २०१२ मा उनले एलिससँग विवाह गरे र दुवै मिलेर एउटा कम्पनीको सुरुआत गरे । त्यही कम्पनीको नामबाट उनीहरुले ठूलो जमिन लिएर विभिन्न प्रजातिका बोटबिरुवा लगाएर कुर्सी, टेबल र ल्याम्प स्ट्यान्डजस्तो आकार दिएर उमार्न थाले । अनि निश्चित आकारमा पुगेपछि बेच्न थाले । यो दम्पतीको यसरी फर्निचर उमार्ने काम निकै सफल भएको छ । ‘यस्ता फर्निचर उमार्न निकै समय लाग्छ’, गेबिन भन्छन्, ‘बोटबिरुवा लगाउनुप¥यो, गोडमेल गर्नुप¥यो अनि तिनलाई फर्निचरको आकारमा ढाल्नुप¥यो ।’

अहिले गेबिनले तयार पारेको एउटा कुर्सी १२ लाख रुपैयाँसम्म बिक्री हुन्छ । त्यस्तै ल्याम्प स्ट्यान्ड १ लाख २० हजार र टेबल १६ लाख रुपैयाँसम्म बिक्री हुन्छ । ग्राहकले पनि गेबिनले तयार पारेको यस्ता फर्निचर निकै मन पराउन थालेका छन् । गेबिनका अनुसार यस्ता फर्निचर तयार पार्न कम्तीमा पनि ९ महिनासम्म लाग्छ । हुन यो नयाँ काम भने होइन । प्राचीन समयमा यसरी नै बोटबिरुवालाई फर्निचरको आकार दिएर उमारिने गरिन्थ्यो । तर वर्तमान परिवेशमा बोटबिरुवाको विनाश न्यूनीकरणका लागि यो तरिका निकै फलदायी हुन सक्ने वातावरणविद् बताउँछन् ।

Womui
Womui