हेर्दाहेर्दै घर ढले, रुख उखेलिए

43

एजेन्सी
इस्लामावाद–पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट भएको सम्पूर्ण क्षति अझै आइसकेको छैन । त्यसपछिको परकम्पका कारण मानिस झन् त्रसित छन् ।

झेलममा गएको पहिलो परकम्प ३ दशमलब ४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधिमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । पाकिस्तानी पत्रिका डनले मृतकको संख्या २३ भएको जनाएको छ । एक सय भन्दा बढीको अवस्था गम्भीर भएको र तीन सयभन्दा बढी घाइते भएको मात्रै बताइएको छ ।

कतिपय सन्चार माध्यमले मृतकको संख्या तीन सय बढी पुगिसकेको जनाएका छन् । मिरपुर क्षेत्रलाई ‘लिटल इङ्गल्याण्ड’ समेत भन्ने गरिएको छ । जहाँ बेलायती शैलीका थुप्रै भव्य भिल्लाहरु छन् । तर ८ देखि १० सेकेण्डको बीचमा गएको भूकम्पले सो क्षेत्रलाई तहसनहस बनाइदिएको छ । मिरपुरलाई बेलायतसँग दाज्नुको कारण हो– सन् १९६० को दशकमा त्यहाँका मानिसलाई बेलायतले आफ्नो उद्योगमा काम गर्न लैजानु ।

मिरपुर क्षेत्रका करिब ४ लाख ५० हजार मानिसको बेलायतसँगको नाता गाढा मानिन्छ । धेरैको पाकिस्तान र बेलायत दुवै देशको नागरिकता छ । भव्य खालका घर छन् । पाकिस्तानस्थित बेलायती उच्चायोगको कार्यालयले त्यहाँको पछिल्लो अवस्था बारेमा चासो व्यक्त गरेको छ । भूकम्पले सडक चिरिएर खोल्सोजस्तो भएको तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरिएका छन् । भूकम्प त्यति ठूलो नठानिए पनि क्षति हेर्दा भने तर्सिने अवस्था उत्पन्न भएको त्यहाँका मिडियाले जनाएका छन् ।

सो भूकम्पको केन्द्र जमिनभन्दा १० किमी तल रहेको जनाइएको छ । पाकिस्तान नियन्त्रित जम्मु काश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर गएको सोमबारदेखि काश्मीर सम्बन्धी एक कार्यक्रममा भाग लिन लाहौरमा रहेकोमा भूकम्पलगत्तै फर्केका छन् ।कैयौँ घर ध्वस्त भएका छन् । रुख उखेलिएका छन् ।

मिरपुर क्षेत्रको सडकमा कार नै निल्नेगरी धाँजा फाटेको छ । गुड्दागुड्दैका बस पनि ढलेका छन् । मिरपुर नजिकै बस्ने ६० वर्षीय मोहम्मद सफदारले भने,”जब हल्लिन थाल्यो म घरमै थिएँ । पर्खाल भत्किदै थिए, घरको छाना खस्दै गरेको देखेँ । सिलिङ फ्यान र अन्य सामग्री पनि खस्दै थिए । त्यसपछि भाग्दै खुला क्षेत्र तर्फ लागे ।

मैले यस्तो भूकम्प मेरो जीवनकालमा कहिल्यै देखेको थिइनँ ।”
६५ वर्षीय रमजान अहमदको टाउकोमा चोट लागेको छ । नाकबाट रगत आइरहेको छ । उनको घर ढल्दा उनी ७ जनाको परिवारसहित घरमै थिए । भन्छन्, “हामी घाइते भएका छौं । म अस्पताल आउने बाटोमा दर्जनौं घर ढलेको देखें ।”

पाकिस्तान प्रशासित काश्मीरका सूचनामन्त्री मुस्ताक मिनहासले अहिले नै क्षतिको विवरण भन्ने अवस्था नरहेको सिन्ह्वासँगको कुराकानीमा बताएका छन् । मिरपुर क्षेत्रमा अझै पनि थुप्रै मानिस पुरिएका कारण संख्या निकै ठूलो हुन सक्ने बताइएको छ । भूकम्पको केन्द्र राजधानी इश्लामाबादबाट ११९ किमी दक्षिण पूर्वको झेलम क्षेत्र हो ।

सो क्षेत्र मिरपुरमा नै पर्छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले परकम्प गइरहन सक्ने भएकोले सतर्क रहन भनेको छ । मिरपुर भारतको नजिकै रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अहिले अमेरिकामा छन् । उनले आफ्नो देशमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Womui
Womui