रेमिट्यान्स पठाउने मुलुकमा अमेरिका पहिलो, कुन देशबाट कति आयो ?

40

छिनछिन खबर
काठमाडौं–नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ । मुलुकमा भित्रिने रेमिट्यान्स वर्षेनी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ ।

पछिल्लो समय औपचारिक माध्यमबाट पठाउने क्रम बढेकाले पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् । ‘हुन्डी कारोबार निरुत्साहित हुँदै जाँदा रेमिट्यान्स वृद्धि भएको हो,’ उनले भने, ‘अर्कोतर्फ विदेसिने कामदारमा बढेको दक्षताले पनि रेमिट्यान्स वृद्धि भएको हो ।’ खासगरी भारत, कोरिया र जापानबाट औपचारिक माध्यममार्फत रकम आउन थालेको छ ।

यसले गर्दा रेमिट्यान्समा उच्च वृद्धि देखिएको हो । गत आर्थिक वर्ष यी तीनै राष्ट्र नेपालमा धेरै रेमिट्यान्स पठाउनेमा ‘टप टेन’ को सूचीमा छन् । भारत दोस्रो स्थानमा पर्न सफल भएको छ भारतबाट पहिले पहिले बोकेरै वा आफन्तमार्फत पैसा ल्याउने चलन थियो, अब बैंकिङ च्यानलमार्फत आउन थालेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ ।

गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको छ । दोस्रो मुलुकबाट आउने रेमिट्यान्सभन्दा अमेरिकाबाट आउने रेमिट्यान्स झण्डै दोब्बर छ । तथ्यांकअनुसार भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको छ । त्यस्तै साउदी अरेबियाबाट ७८ करोड, यूएईबाट ७४ करोड, मलेसियाबाट ६५ करोड, जापानबाट ५८ करोड रोमानियाबाट ४९ करोड डलर रेमिट्यान्स भित्रिएको छ । कोरिया, बहराइन र कतार पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुकमा ‘टप टेन’ भित्र छन् ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार कतिपय रेमिट्यान्स कम्पनीको खाता अमेरिकामा भएकाले त्यहाँबाट आउने रेमिट्यान्स उच्च देखिएको हो । वेष्टर्न युनियन मनी ट्रान्सफरले अमेरिकी बैंकहरूसँग सहकार्य गरेको छ, अमेरिकी बैंकमा उसको खाता भएकाले अन्य देशबाट सो खातामार्फत रेमिट्यान्स पठाउँदा अमेरिकाबाट आएको देखिन्छ । यसले गर्दा अमेरिकाबाट आउने रेमिट्यान्स उच्च देखिएको निरौलाले बताए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालीलाई जान प्रतिबन्ध लगाइएका इराक, लेवनान जस्ता मुलुकबाट समेत उच्च रकम रेमिट्यान्सका रुपमा आउने गरेको छ । इराकबाट गत आर्थिक वर्ष ८७ लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्रिएको छ । त्यस्तै लेबनानबाट २४ लाख ८३ हजार अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाली त्यहाँ जाने गरेकाले प्रतिबन्ध लगाएका मुलुकबाट समेत रेमिट्यान्स आउने गरेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

Womui
Womui