‘जिउँदो शिशुलाई मृत घोषणा’ गरेको घटना छानबिन गर्न समिति गठन

42

नेपालगन्ज, भदौं २८-
जिउँदै अवस्थाका नवजात शिशुलाई मृत घोषणा गरेको घटना छानबिनका लागि भेरी अस्पताल नेपालगन्जले एक समिति बनाएको छ । अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा. कल्पना थापाको संयोजकत्वमा शनिबार छानविन समिति गठन गरिएको हो । नेपालगन्जको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको भेरी अस्पतालमा मृत्यु भएपछि परिवार तथा आफन्तले आन्दोलन गरेका थिए । पीडित पक्ष र अस्पताल प्रशासनबीच दिउँसो भएको बार्ताका क्रममा छानविन समिति बनाउने सहमती भएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईका अनुसार छानविन समितिले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको लागि अस्पताल प्रशासनलाई सिफारिस गर्नेछ ।

यस्तै अस्पतालले यस्ता घटना आगामी दिनमा नदोहोर्याउने प्रतिवद्धता पनि जनाएको छ । दुई वर्षअघि पनि अस्पतालका नर्सको लापरबाहीका कारण यस्तै प्रकृतिको घटना भएको थियो । अस्पतालले पीडित पक्षलाई राहत स्वरुप किरिया खर्च वापत २५ हजार रुपैयाँ पनि उपलब्ध गराउने सहमती जनाएको छ । बार्तामा मृतक नवजात शिशुका बुवा मिलन अधिकारी, उनका आफन्त, नेपाली कांग्रेसका युवा नेता एवम् वडासदस्य रमेश तिमिल्सिना, अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाह, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. चापागाई, अस्पतालका अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो । अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पुर्याएपछि जीवित देखिदाँ शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । करिव ६ सय ग्राम तौल रहेको महिना नपुगेको शिशु(छोरी)को अस्पतालको एनआईसियु कक्षमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको थियो ।

शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखी अस्पताल क्षेत्रमा आन्दोलन गरेका थिए । शुक्रबार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन् । जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज बसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन् । जबकी कुनैपनि बिरामीलाई मृत्यु भएरनभएको घोषणा घोषणा नर्सले गर्न पाउँदैनन् । मृत्यु घोषणा गर्ने अधिकार डाक्टरलाई मात्र हुन्छ । तर, ज्ञवालीले शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर शव लैजान भनिन् ।

मृत्यु भइसकेको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले २ हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगन्ज बुलबुलियास्थित हिन्दु मसानघाट लगेका थिए । मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो । गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए । कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन छांगाबाट खसेझै भएका थिए । उनी रुँदै छोरीलाई बोकेर पुनः भेरी अस्पताल पुगेका थिए ।

Womui
Womui