कर्णाली प्रदेशका पूर्वमन्त्री खत्री ५ लाख धरौटीमा रिहा

101

छिनछिन खबर
काठमाडौं– कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा भएका छन् । फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका उनी उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

उच्च अदालत पाटनले खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । खत्रीले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए । उच्च अदालत पाटनमा उपस्थित भएका खत्रीको मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलाशमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि अदालतले खत्रीसँग ५ लाख धरौटी मागी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

केएसके नामक निर्माण (ठेकेदार) कम्पनीका सञ्चालक रहेका खत्री फर्जी बैंक ग्यारेन्टी प्रकरणमा मुछिएका थिए । कृषि विकास बैंकको रत्नपार्क शाखाको जाहेरीले खत्रीविरुद्ध नेपाल सरकारले नै बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो । ५५–५५ लाखका २ ओटा ठेक्काको फर्जी बैंक ग्यारेन्टी बनाउँदा खत्री साक्षी बसेका थिए । उक्त प्रकरणमा खत्रीसँगै ठेकेदारहरु रणवीर तुम्बा र देवजंग शाहीको पनि प्रत्यक्ष संलग्नता देखिएको थियो ।

उनीहरुले कृषि बिकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत छबिलाल ढकालसँगको मिलेमतोमा फर्जी बैंक ग्यारेन्टी बनाएका थिए ।

Womui
Womui