शिक्षक हुन १२ कक्षा उत्तीर्ण हुनुपर्ने

40

छिनछिन खबर
काठमाडौं–शिक्षक हुनका लागि अबदेखि १२ कक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावलीको १० औँ संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो ।

संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको बताउँदै भने, ‘विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरेका हौँ ।

यसबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट मात्र शिक्षकमा छनोट हुनसक्नेछन् ।’ सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन् । संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था छ ।

पछिल्लो पटक दुई लाख २५ हजार जनाले लिखित परीक्षा दिएका थिए । सामान्य परीक्षाको उत्तरपुस्तिका उपकरणको सहायताले परीक्षण गरिनेछ । यसबाट छिटो नतिजा सार्वजनिक हुनुका साथै विषयगत परीक्षामा सहभागी कम हुने हुँदा व्यवस्थापनमा समय र आर्थिक खर्चमा कटौती हुने सहसचिव काप्रीले बताए । वस्तुगत प्रश्नमा उत्तर गलत हुँदाप्रति गलत उत्तरको शून्य दशमलव दुई अङ्क कटौती गर्ने प्रावधान गरिएको छ । ठीक यस्तै विधि लोक सेवा आयोगको परीक्षामा पनि छ । शिक्षकको अन्तरवार्ताका लागि तोकिएको २५ अङ्कको नयाँ बाँडफाँट गरिएको छ ।

Womui
Womui