यस्तो छ रक्षा बन्धनको धार्मिक महत्व

337

छिनछिन खबर
काठमाडौं–रक्षा बन्धन अथवा जनै पूर्णिमा प्राचीन समयदेखि धुमधामसँग मनाइने गरिन्छ । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । पौराणिक भनाइ अनुसार भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो ।

दैत्य देवताहरुमाथि भारी पर्न थाले । देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्रले ऋषि वृहस्पति कहाँ गएका सहयोग मागेका हुन्छन् । बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो ।

मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो । त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।

त्यस्तै भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भइन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए । नारदको सल्लाह अनुसार लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।

Womui
Womui