जाजरकोट–दुनै सडकबाट बाहिरिँदै सेना

130

काठमाडौं–डोल्पा सदरमुकाम दुनैलाई गत मंसिरमा सडकको राष्ट्रिय सञ्जालमा जोडेको नेपाली सेनाले उक्त सडक सरकारलाई हस्तानान्तरण गरी छाड्ने तयारी गरेको छ।

सेनाले जाजरकोट–दुनै सडकको ट्र्याक खोल्ने काम सके पछि सडक विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको हो । यो सडक निर्माण कार्यदलका संयोजक, नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले तोकिएको जिम्मेवारी पूरा भएपछि सेना फर्कन थालेको नागरिकलाई बताए। उनका अनुसार साउन मसान्तसम्म जाजरकोट–दुनै सडकबाट सेनाको सबै जिम्मेवारी पूरा भएर सडक विभालाई हस्तान्तरण भइसक्नेछ ।

सबै जिल्ला सदरमुकामलाई सडकको राष्ट्रिय सञ्जालमा जोड्ने उद्देश्यका साथ २०६१ जेठ १४ मा तत्कालीन सरकारले दिएको जिम्मेवारी अनुसार पहाडीको नेतृत्वमा सेनाले सल्यानको सल्लीबजारदेखि सडक निर्माण कार्य सुरु गरेको थियो। तत्कालीन द्वन्द्वको समयमा ठेकेदारले निर्माण गर्न नसकेपछि र भौगोलिक विकटताका कारण सुरुमा जाजरकोट सदरमुकाम जोड्नका लागि सडक निर्माणाको जिम्मा पाएको सेनाले २०६५ देखि जाजरकोट–दुनै सडकको पनि निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

पहाडीका अनुसार २०६५–६७ सम्म जाजरकोट–दुनै सडक रेखांकन विवादका कारण निर्माण कार्यमा समस्या सिर्जना भए पनि २०६७ पछि निर्माण कार्य तीव्र पारिएको थियो । करिब एक सय १८ किलोमिटर लामो जाजरकोट–दुनै सडक खण्डको ट्र्याक खोल्ने काम सकिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रधानसेनापति पूर्णचन्द्र थापाले मंसिर ४ गते सडक उद्घाटन गरेका थिए ।

‘कठिन भूगोल र विषम परिस्थितिका कारण सरकारले सल्यानको सल्लीबजार हुँदै जाजरकोट–दुनै सडकको निर्माण गर्ने जिम्मा सेनालाई दिएको हो,’ पहाडीले भने, ‘निकै कठिन मानिएको सडक पूरा गर्न पाउँदा एकातिर सरकारको जिम्मेवारी पूरा गरेका छौं भने अर्कोतर्फ स्थानीयको वर्षौंदेखि मोटर चढ्ने चाहना पूरा भएको छ ।’ ठुल्ठूला पहाड र कडा चट्टाने पहाडमा सडक निर्माण गर्न सेनाले दर्जन बढी स्थानमा क्याम्प खडा गरेको थियो।

कडा चट्टान फोड्न सेनाले विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपरेको थियो। कार्यदल संयोजक पहाडीका अनुसार सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य सम्पन्न भइसक्ने थियो । ट्र्याक खोल्ने काम सम्पन्न भइसकेपछि अब सडकलाई कालोपत्रे गर्ने र करिब एक दर्जन स्थानमा पुल निर्माणको काम सडक विभागले गर्ने बताइएको छ। उक्त सडक जाजरकोटमा ४६.७, डोल्पामा ४०.५ र रुकुममा ३०.५ किलोमिटर पर्छ।

सेनाले एउटै सडक खण्डमा सबभन्दा लामो समय बिताएको सोही सडक हो । दुनैमा गाडी पुगेपछि अब हुम्ला सदरमुकाम सिमकोटमात्र सडक सञ्जालमा जोडिन बाँकी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्न भने अझै तीन–चार वर्ष लाग्छ ।
यसैबीच, डोल्पा सदरमुकाम दुनै सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक बनेको छ।

भेरी करिडोर नाम दिइएको उक्त सडक खण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत–मारिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने तयारी भइरहेको छ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले उक्त सडकलाई रणनीतिक महत्वको रूपमा लिइएको छ । दक्षिणतर्फ भारतको रुपैडिहादेखि उत्तरको तिब्बत–मरिमसम्मको दूरी करिब साढे चार सय किलोमिटर हुने बताइएको छ ।

जनताको वर्षौंको अपेक्षा पूरा गर्न पाउँदा खुसी छौंः कर्णेल पहाडी

सुरुमा २०६१ जेठ १४ गते तत्कालीन सरकारले जाजरकोट सदरमुकाम जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिएको हो। द्वन्द्वकालीन समयमा ग्रामीण भेकमा पुगेर विकास निर्माणको काम गर्नु निकै जोखिम थियो ।

परिस्थिति नै जटिल भएकाले धेरैले सेनाको कामप्रति आशंका पनि गरेका थिए। तर, हामीले जनताको साथ लिएर सरकारले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयास ग¥यौैं। चौरजहारीसम्मको ४१ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गरेपछि पुनः सरकारले २०६५ मा कर्णालीको विकट जिल्ला डोल्पा सदरमुकाम दुनैमा सडक पु¥याउने जिम्मा सेनालाई नै दियो । भौगोलिक विकटता भए पनि हामीले हार नमानी निर्माण थाल्यौं। सुरुको दुई वर्ष रेखांकन विवादले काम अघि बढ्न सकेन।

२०६७ पछि सुरु गरिएको कामले बल्ल पूर्णता पाएको हो। जाजरकोट–दुनै सडक अन्य स्थानमा काम गरेजस्तो सहज थिएन। यो निकै कठिन र विकट हो । निर्माणको क्रममा हामीले अनेक पीडा भोगेका छौं। ती सबै पीडा दुनैसम्म ट्र्याक खोल्न पाउँदा र दुनैलाई सडकको राष्ट्रिय सञ्जालमा जोड्न पाउँदा बिर्सेका छौं। सबभन्दा महत्वपूर्ण कुरा यो सडकको निर्माण कार्य पूरा गरेर सेनाले राज्यले दिएको जिम्मेवारी पूरा गरेको छ। अर्कोतर्फ विकट क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको गाडी चढ्ने वर्षौंदेखिको सपना पूरा गरेको छ । कामको मूल्यांकन गरेरै होला सडक निर्माणको क्रममा स्थानीयले सेनालाई खसी काटेरसमेत खुवाएका छन् ।

त्यस्तै डोल्पा, रुकुम र जाजरकोटका जिल्ला परिषद्ले मलाई दिइएको जिम्मेवारी पूरा गरेकोमा सम्मान गरेका छन्। पक्कै पनि यो सडकमा अझै पनि गर्नुपर्ने काम थुप्रै छन् । सडकको कालोपत्रे गर्नुपर्ने छ। भेरी नदी र विभिन्न खोलामा पुल निर्माण गर्नुपर्ने छ । कतिपय स्थानमा सडक चौडा पार्नुपर्नेछ। अब त्यो सबै निर्माण गर्ने जिम्मेवारी सडक विभागमा सर्दैछ। केही दिनमा जाजरकोट–दुनै सडक विभागलाई हस्तान्तरण गर्दैछौं ।
नागरिकबाट

Womui
Womui