नेकपाको सचिवालय बैठक बस्नु अगावै पूर्वएमालेका नेताको छुट्टै छलफल

46

छिनछिन खबर
काठमाडौं, साउन १३ । पार्टी स्कुल विभाग प्रमुखका विषयमा सहमति जुटाउन नसकेर स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सोमबार बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी विभागहरुको नेतृत्व टुंग्याउने विषयमा छलफल हुनेछ । स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षहरुबीच नै कुरा मिल्न नसकेपछि यसअघि बस्ने भनेका तीनवटा बैठकहरु स्थगित हुँदै आएका थिए ।

तर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर भइरहेका छलफलले पनि पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । नेकपाका नीति तथा प्रतिष्ठान सहित ३३ वटा विभागमध्ये ३२ वटा विभागको भागवण्डा मिलिसकेको छ । स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीमध्ये कसको भागमा पार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

मुख्य विभागको नेतृत्वमै नेताहरुबीच सहमति नभएपछि यसअघि बोलाइएका दुईवटा सचिवालय बैठक स्थगित भएका थिए । स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ ।  सचिवालय बैठक बस्नुअघि पूर्व एमालेका तर्फबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको बैठक विभागको नेतृत्वको टुंगो कसरी लगाउने भन्ने विषयमा कुराकानी हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

Womui
Womui