राप्तीसोनारीका खोलामा चोरी बढ्यो

94

(बाँके), राप्तीसोनारी, साउन ६-
राप्तीसोनारी गाउँपालिका क्षेत्रका खोलामा चोरी बढेको छ । गाउँपालिकाले गत असार १ गतेदेखी खोलाबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्न रोक लगाएको थियो । गाउँपालिकाले अर्को ठेक्का नखोल्दा सम्म कसैले पनि नदीजन्य सामाग्री संकलन र उत्खनन गर्न पाउँदैन । तर, यहाँका खोलामा दिनहुँजसो ट्याक्टर, टिपर तथा एक्साभेटर लगेर ढुंगा, गिट्टी, बालुवा चोर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

राप्तीसोनारी गाउँपालिकाले सोमबार नियन्त्रणमा लिएका ट्याक्टर ।

कतिपय जनप्रतिनिधीलाई चोरी भईरहेको थाहा भएपनि आँखा चिम्लिएको स्थानीयको आरोप छ । तस्करी भएको ढुंगा, गिट्टी, बालुवा कागज मिलाएर कोहलपुर तथा नेपालगन्ज सम्म पु¥याउने गरेका छन् । तस्करले पुरानो स्टक देखाएर माल ओसार्ने गरेको बताइएको छ । राप्तीसोनारीको मुगुवा, परुवा र झिझरी खोलाबाट चोरी बढिरहेको स्थानीयको भनाई छ ।

यसैक्रममा ढुंगा चोरी गरिरहेको अवस्थामा सोमबार बिहान मुगुवा खोलाबाट ६ वटा ट्याक्टरलाई गाउँपालिकाले नियन्त्रणमा लिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वमा पुगेको टोलीले स्थानीय प्रहरीको सहयोगमा उक्त ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्याक्टरमा भे १ त ८६९९, भे१त ८८५५, भे१त ९२६९, भे१त ७८५८ नम्बरका र नम्बर नखुलेका अन्य २ वटा रहेका छन् ।

उनीहरुलाई ८ हजारका दरले जरिवाना लिएर छाडिएको उपाध्यक्ष खत्रीले जानकारी दिएकी छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुले बन्द रहेका खोला नालामा चोरी बढेको सूचना आउने गरेको सुनाए । बन्द रहेका खोलामा पसेर चोरी गर्ने ट्याक्टर धनीलाई पहिलो पटकका लागि ८ हजारका दरले जरिवाना गराएर छाडिएको उनले बताए । चोरी नियन्त्रणका लागि गाउँपालिका कडाईका साथ प्रस्तुत हुने अध्यक्ष थारुको भनाई छ ।

Womui
Womui