भावी सभापतिको दावेदार रहेको महामन्त्री कोइरालाको संकेत

118

नेपालगन्ज, साउन ६-
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा नेतृत्वका लागि आफु दावेदार रहेको संकेत गरेका छन् । विपी कोइरालाको ३७ औं स्मृती दिवसको अवसरमा कांग्रेस बाँकेले नेपालगन्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने बताए । यसका लागि भने सम्पुर्ण कार्यकर्ता एक हुनुपर्नेमा जोड दिए ।

‘पार्टीको महाधिवेशन अब आउँदैछ, शेरबहादुर जी सायद फेरी लड्नु हुन्छ होला, हाम्रो तर्फबाट पनि एउटा उम्मेदवार तयार हुन्छ, यसपटक पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ,’ उनले भने । महामन्त्री कोइरालाले पार्टीलाई भने एक ढिक्का बनाउनुपर्ने बताए । पार्टीलाई बलियो बनाउन सबै एक ठाउँमा उभिनुपर्ने कोइरालाको भनाई छ । बर्तमान सरकार हरेक कुरामा चुकिसकेको बताए । सरकारले नै संघियतालाई उपेक्षा गरिरहेको आरोप लगाए ।

उनले अगाडी भने, ‘वर्तमान सरकारले बजेटजति सबै केन्द्रमा थुपार्ने काम गरेको छ, स्थानीय र प्रदेश सरकारलाई सिमित बजेट दिएर संघियतालाई असफल पार्न खोज्दैछ, हुन त कम्युनिष्ट शासन भनेको केन्द्रिकृत नै हुन्छ ।’ कार्यक्रमलाई कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे, बाँके सभापति किरण कोइराला, पुर्वसभापति सनत रेग्मी, प्राध्यापक अर्जुन पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

Womui
Womui