विप्रेषण पठाउन कामदारको वार्षिक १८ अर्ब खर्च

83

छिनछिन खबर
काठमाडौं– देशमा बढ्दो बेरोजगारका कारण विदेशिएका नेपालीले पठाउने विप्रेषणका लागि वार्षिक १८ अर्ब खर्च गर्दै आएका छन् । वैदेशिक रोजगारमा रहेका मध्य एक तीहाई अदक्ष कामदारले कमाउने थोरै पैसाका कारण विप्रेषण पठाउने लागत बढेको हो ।


नेपालमा अहिले बैंक तथा नीजि रेमिट कम्पनीले विप्रेषण भित्र्याउँदै आएका छन् । साउदी अरेवियाबाट ४८ प्रतिशत, युनाइटेड अरव इमरेट्सबाट ६३ प्रतिशत, मलेसियाबाट २८ प्रतिशत तथा कतारबाट ३३ प्रतिशत विप्रेषण बैंकिंङ्ग प्रणालीबाट नेपाल आउने गरेको छ । नेपाल आउने विप्रेषण मध्ये ४० प्रतिशतमात्रै बैंकिङ् च्यानलबाट आउने गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनका अनुसार एक पटकमा दुई सय अमेरिकन डलर नेपाल पठाउँदा चार दशमलव पाँच प्रतिशत लागत लाग्ने गरेको छ । दिगो विकास लक्ष्य २०३० ले यस्तो लागतलाई तीन प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

एक पटकमा अधिकांश नेपाली कामदारले दुई सय डलरको हाराहारीमा मात्रै नेपालमा विप्रेषण पठाउने गरेका छन् । प्रतिवेदन भन्छ, ‘विप्रेषण सम्वन्धी लागतको तुलनात्मक विश्लेषण गर्दा नेपालमा विप्रेषण पठाउने लागत अन्य कतिपय मुलुकको तुलनामा कम भन्न मिल्ने देखिँदैन ।

नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुकबाट नेपालमा एक पटकमा २ सय अमेरिकी डलर पठाउँदा औसत ४.५ प्रतिशत र पाँच सय अमेरिकी डलर पठाउँदा ३ प्रतिशत लागत लाग्ने गरेको छ । तर अधिकांश नेपाली श्रमिकहरु अदक्ष वा अर्धदक्ष रहेको सन्र्दभमा उनीहरुले एक पटकमा घर पठाउन सक्ने रकम सामान्यतयाः २ सय अमेरिकी डलर हुन्छ र यसको औसत खर्च ४.५ प्रतिशत हुने गर्दछ ।

प्रतिवेदन भन्छ, ‘विप्रेषणको लागत न्यूनीकरण गर्ने विभिन्न उपाय मध्ये सरकारद्वारा लागत शोधभर्ना गर्ने प्रणाली प्रमुख उपाय हो । यो व्यवस्था पाकिस्तानमा अवलम्बन गरिएको छ । नेपालको सन्र्दभमा प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट विप्रेषण पठाउँदा लाग्ने खर्च र ती मुलुकहरुबाट प्राप्त कुल विप्रेषणका आधारमा अध्ययन गर्दा वार्षिक १८ अर्ब ६० करोड सम्मको व्ययभार सरकारलाई थपिन्छ ।’

Womui
Womui