गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरुले संसदीय समिति गठन गर्न माग

122

छिनछिन खबर
काठमाडौं, असार २४ । गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सर्लाही घटनाबारे छानविन गर्न सांसदहरुले संसदीय समिति गठन गर्न माग गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीको ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्युभएपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गर्दा सरोजनारायण यादवको मृत्यु भएको बताएका छन् ।‘हवाई फायरमै यादवको मृत्यु भएको हो । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले न्यूनतम बल प्रयोग गरेको थियो’ गृहमन्त्री थापा मङ्गलबार संसद बैठकमा घटनाबारे जवाफ दिँदै थिए ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको गृहमन्त्रीको भनाई छ । ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो’ मन्त्री थापाको स्पष्टीकरण छ ।मंगलबारको संसद बैठकमा काँग्रेस र राजपा सांसदहरुले सर्लाही घटनाबारे प्रश्न गरेका थिए । ‘हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो ?’ सांसदहरुको प्रश्न छ । गृहमन्त्रीको  चित्तबुझ्दो नभएको भन्दै सांसदहरुले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे । उनीहरुले नाराबाजी गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दै ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि बैठक स्थगित गरेका थिए ।

Womui
Womui