नेपाली कांग्रेस प्रादेशिक संरचनामा जाँदै

36

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसले बःल्ल प्रादेशिक संरचनामा जाने तयारी गरेको छ । केन्द्रीय कार्यसमितिको असार २२ गते सुरु हुने बैठकले पार्टीको घरेलु सन्दर्भ र राष्ट्रिय राजनीतिका बारेमा जरुरी निर्णय गर्ने विज्ञप्ति प्रकाशित गरी प्रष्ट पारेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा संविधान र पार्टीको संशोधित विधान अनुरुपका संरचना निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिने उल्लेख छ । ‘पार्टीको संशोधित विधानको अन्तिम टुंगो भएपश्चात केन्द्रीय समितिले विधान कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ,’ शर्माले भनेका छन् ‘बैठकले नियमावली पारित गरेपश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्गप्रशस्त हुनेछ ।’

उनले जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्यमध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य रहेको जनाएका छन् । विधानले निर्दिष्ट गरेबमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुने कांग्रेसले बताएको छ । केन्द्रीय समिति बैठकलगत्तै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाबारेका निर्णय आवश्यक परामर्श पश्चात् हुने विज्ञप्तिमार्फत प्रष्ट पारिएको छ ।

‘नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहसमार्फत् आवश्यक निर्णय लिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Womui
Womui