बाक्लिदै नेताहरूको चीन भ्रमण

123

छिनछिन खबर
काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको छिमेकी मुलुक चीनको भ्रमण बाक्लिदै गएको छ । पछिल्लो समय नेकपाका नेताहरू कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा भन्दै नेताहरु चीन भ्रमणमा जाने गरेका

छन् । कुनै बेला नेपालका नेताहरूको दिल्ली आउजाउ बाक्लो हुने गर्थ्र्यो । तर, अहिले नेताहरुको गन्तब्य चीनतिर सोझिएको छ । पछिल्लो तीन दिनमा सत्तारुढ दल नेकपाका एक मन्त्री र दुई मुख्यमन्त्रीको चीन भ्रमण हुनु यसको पछिल्लो दृष्टान्त हो । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आइतबार (असार १५) चीन प्रस्थान गरे ।

उनी चीनको डालियान शहरमा (असार १६ देखि १८ गतेसम्म) आयोजना भएको विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन चीन गएका हुन् । मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गरेका छन् ।

मन्त्री ज्ञवाली आज १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारी पनि छन् । मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने छन् ।

परराष्ट्रमन्त्री चीन प्रस्थान गरेको भोली पल्ट प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल पनि चीन प्रस्थान गरे । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा मन्त्री पोखरेल सहितको टोली चीनको छेन्दु प्रस्थान गरेको हो ।

मुख्यमन्त्रीको भ्रमण टोलीमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश नं ५ सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, युवा सङ्गठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर, संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर जिल्ला अध्यक्ष प्रेमकुमार राई लगायत छन् ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम भएको छ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्नेबारे समझदारी हुनेछ । मुख्यमन्त्री पोखरेल असार २५ गते स्वदेश फर्किने जनाइएको छ ।

मुख्यमन्त्री पोखरेल चीन प्रस्थान गरेको पर्सीपल्ट प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल चीन प्रस्थान गरे । चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् । चीनको लाम्झाउ शहरमा असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘२५ औं चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा सहभागी हुन मुख्यमन्त्री चीन भ्रमणमा गएका हुन् । नेताहरूको चीन मोह बढ्नुले राजनीतिक वृत्तमा बहस पनि सुरु गराएको छ । पछिल्लो समय नेपालमा भारतको स्थान चीनले लिन थालेको भन्ने बहस भएका छन् ।

Womui
Womui