आफन्तलाई जागिर खुवाएका त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

29

छिनछिन खबर
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना मुद्दा दायर गरेको छ । आयोगले लिएको परीक्षाको परिणाम फेरबदल गरी आफन्तलाई जागिर खुवाएको अभियोगमा अख्तियारले विशेष अदालतमा १० जनाविरुद्ध आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अध्यक्ष शर्मासहित १० जना कर्मचारी मिलेर विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अख्तियारको ठहर छ ।

अख्तियारले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापकद्वय टेकनाथ ढकाल, गोविन्द ढकाल, सह प्राध्यापकत्रय राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजाय मागदावीसहित मुद्दा दायर गरेको हो ।
आरोपितहरुले पदीय मर्यादा अनुरुप आफूले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त पदहरुको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध भएको अख्तियारले जनाएको छ ।

Womui
Womui