विद्युत्को ९ अर्ब बक्यौता उठाउन बाँकी, कसरी उठाउँदैछ प्राधिकरण ?

106

प्रनिलबहादुर खड्का
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ ।

बक्यौता मध्ये हेटौँडा क्षेत्रको सबैभन्दा बढी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार विराटनगर क्षेत्रमा १४ डेडिकेटेड र पाँच ट्रङ्क लाइनको मात्रै एक अर्ब छ करोड ५७ लाख ८८ हजार, जनकपुर क्षेत्रमा १० डेडिकेटेड र तीन ट्रङ्क लाइनको एक अर्ब नौ करोड १५ लाख ९७ हजार रुपैयाँ महसुल उठ्न बाँकी छ ।

यस्तै, हेटौँडा क्षेत्रमा कूल २८ डेडिकेटेड र ११ ट्रङ्क लाइनबाट चार अर्ब ३२ करोड ३९ लाख ५५ हजार, काठमाडौँमा १७६ डेडिकेटेड र तीन ट्रङ्क लाइनको १८ करोड ९१ लाख ६९ हजार, बुटवल क्षेत्रमा एक डेडिकेटेड र २८ ट्रङ्क लाइनको एक अर्ब ३८ करोड ८८ लाख १९ हजार रुपैयाँ उठाउनु पर्नेछ ।

त्यस्तै, नेपालगन्ज क्षेत्रमा सात डेडिकेटेड र दुई ट्रङ्क लाइनको एक अर्ब तीन करोड २३ लाख २८ हजार र अत्तरिया क्षेत्रको आठ ट्रङ्क लाइनको मात्रै २३ लाख ८६ हजार बराबरको बक्यौता असुल गर्न बाँकी छ । मुख्य प्रसारण लाइनबाट कुनै पनि अवरोध नहुने गरी विद्युत् लिने ग्राहकले ट्रङ्क लाइन प्रयोग गरेका छन् । कूल २३९ डेडिकेटेड र ६९ ट्रङ्क लाइनबाट हालसम्म २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ ।

प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । यसैगरी, प्राधिकरणको सबस्टेशनबाट प्राधिकरण आफैँले बनाएका, उद्योगीले आफैँ बनाएका वा सिमेन्ट उद्योग लगायतलाई उद्योग मन्त्रालयले बनाइदिएका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहक डेडिकेटेड ग्राहकका रुपमा छन् ।

उद्योगी–व्यवसायी सर्वोच्च र उच्च अदालत गएका कारण बक्यौता उठाउन समस्या परेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता महसुल उठाउन प्राधिकरण इमान्दर भएर लागिपरेको र कोही कसैलाई छुट नदिने स्पष्ट पारे । प्राधिकरणले २०७२ असार १२ गतेदेखि डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् दिने निर्णय गरेको थियो ।

Womui
Womui