अमेरिका सपनाको दुःखद कथा

57

एजेन्सी
चार वर्षअघिको एउटा तस्बिरले विश्वको मन कुँड्यायो । अमिलो बनायो । समस्याको ठूलो पोको असरल्ल हुनेगरी पोखियो । त्यो तस्बिर थियो तीन वर्षका सिरियाली बालक एलन कुर्दीको । कुर्दिस मुलका ती बालक देशमा भड्किएको हिंसाबाट बचेर उनका लागि अभिभावकले देखेको सुरक्षित भविष्यको सपनासहित अभिभाककै साथमा युरोपको यात्रामा थिए । तर उनले सो सपनाको यात्रा पूरा गर्न सकेनन् ।

उनी ग्रिक आइल्याण्ड कोसमा घोप्टो परेको अवस्थामा भेटिए । समुद्रको छालले उनलाई बगाएर किनारमा ल्यायो । भूमध्यसागरको किनारमा घोप्टो परेका एलनको तस्बिरले विश्वको ध्यान खिच्यो । टर्किस पत्रकार निलुफेर देमिरले खिचेको तस्बिरले युरोप प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीको वास्तविक समस्या स्पष्ट बनायो । युरोपको आप्रवासी समस्यासमा विश्वव्यापी डिस्कोर्सको कारण बन्यो सो तस्बिर । त्यो तस्बिर थियो सन् २०१५ को सेप्टेम्बर २ को ।

झण्डै चार वर्षपछि त्यस्तै प्रकृतिको, अझ हृदयविदारक तस्बिरले विश्वको मन निचोरेको छ । फेरि एक पत्रकारको क्यामरामा किनारमा घोप्टिपरेका सपना जीविको मृत रहरहरु समेटिन बाध्य भएका छन् । योपटक तस्बिर एकजनाको मात्रै छैन । सपनालाई पिठ्युँमा बोकेर हिँडेका पिताले आफ्नो रहरलाई बाटो देखाउन सकेनन् ।

एल साल्भाडोरका ओस्कार अल्बर्तो मार्तिनेज रामिरेज उनकी २३ महिनाकी छोरी वालेरियासहित अमेरिका पुग्ने सपनामा मेक्सिको पुगेका थिए । आफ्नो देशमा भविष्य अनिश्चित ठानेर अमेरिकामा सुकिलो भविष्यको खोजीका लागि हानिएका रामिरेजले टेक्सासमा आश्रयका लागि कागजी प्रक्रिया पूरा गर्न सकेनन् ।अनि उनले आँटे रियो ग्राण्डी नदी पार गरेर मेक्सिको पारी अमेरिका पुग्ने । उनले छोरीलाई पिठ्युँमा बोकेर नदी पार गर्न खोजेका थिए, तर पूरा भएन यात्रा । पानीसँग जित्न सकेन उनका सपनाहरुले ।

पिठ्युँकी छोरीसहित रामिरेजले प्राण त्यागे । पानीले उनीहरुलाई किनारमा ल्याएर छोडिदियो । घोप्टो परेका उनी र उनको पिठ्युँमा उसैगरी घोप्टो परेकी २३ महिनाकी वालेरियाको विलय भयो ।वालेरिया आफ्ना पिताको पिठ्युँमा छिन्, उनको हात पिताको काँधमा छ । पिताले छोरीलाई आफ्नो लुगाले बेरेका छन् । छुट्टिएका छैनन् उनीहरु । मनै बराल्ने छ यो तस्बिर ।

उक्त तस्बिर खिच्ने पत्रकार जुलियाका अनुसार रामिरेजले अमेरिकी अधिकारी सामु आफ्नो परिवारका लागि आश्रयको खोजिका लागि चाहिने कागजात पूरा गर्न सकेनन् र उनले आइतबार पौडेर नदी पार गर्ने आँट गरेका थिए । तर त्यो आँट नै उनी र उनकी छोरीको जीवनको अन्तिम यात्रा बन्यो । रामिरेजले छोरीलाई नदी पारी अमेरिका लगेका थिए सकुशल ।

छोरीलाई पारी छोडेर श्रीमतीलाई लिनका लागि उनी फेरि वारी आए । तर पिता गएको देखेर वालेरिया नदीमा पसिन् । त्यो देखेर रामिरेज फेरि गए, छोरीलाई समाते तर उनीहरुलाई नदीको छालले जीवित रहन दिएन । यो जानकारी रामिरेजकी श्रीमती तानिया वानेसा एवालेसले समाचार संस्था एपीसँग बताएकी हुन् । रामिरेज र वालेरियाको तस्बिरले क्यारावान तथा मध्य अमेरिकी देशबाट अमेरिका पुग्न चाहने आप्रवासीले भोग्नु परेको समस्याको यथार्थता उदांगो पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धी कडा नीति लिएपछि धेरै आप्रवासी समस्यामा परेका छन् । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्रादोरले समाचार संस्था एपीसँग जुन घटना भयो त्यो अति नै पश्चाताप पूर्ण रहेको बताएका छन् । आफूहरुले आप्रवासी प्रति अमेरिकाको कडा नीतिको विरोध गर्नुको कारण यस्तै दुर्घटनाहरु नहुन् भन्नका लागि रहेको उनले बताएका छन् ।

Womui
Womui