विदेशस्थित विभिन्न अस्पतालमा २८ नेपाली कोमामा

50

काठमाडौं– सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा)मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिनेछ । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया र मापदण्डका सम्बन्धमा सुझाव पेस गर्ने बोर्डको सचिवालयले जनाएको छ ।

अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई )लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

श्रममन्त्री विष्टले मन्त्रालय सम्हालेलगत्तै विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेका बिरामीलाई स्वदेश ल्याउन पहल थालेका थिए । ती बिरामीलाई स्वदेश ल्याएर उपचार गर्न उनले पटक–पटक सरोकारवालासँग छलफल गरेका थिए । मन्त्री विष्टले शिक्षण अस्पताल महाराजगन्ज, वीर र पाटन अस्पतालका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका सचिवसँग कोमामा रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने सम्बन्धमा छलफल गरेका थिए ।
रासस

Womui
Womui