नेकपा एकता सकसमा, प्रचण्ड भन्छन्–ओलीले आत्मसमर्पण गराउन खोजे

81

छिनछिन खबर
काठमाडौं– एकतापछि पहिलो महाधिवेसन हुन नपाउँदै नेकपामा विवाद बढ्न थालेको छ । एकता प्रक्रियालाई टुंग्याउन भइरहेका छलफल निष्कर्षबिना टुंगिन थालेका छन् । दुई अध्यक्षबीचको छलफलमा केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई आत्मसमर्पण हुने खालको अभिव्यक्ति दिएको प्रचण्डले बताएका छन् ।

ओलीले अहिले आएर प्रचण्डलाई बहुदलीय जनवादलाई मूल सिद्धान्त बनाउनु पर्ने बताउन थालेपछि पूर्व माओवादी समूह झस्किन थालेका छन् । गत बर्ष असार २ गते बालुवाटारमा आयोजित स्थायी समितिको पहिलो बैठकले टुंगो लगाएको राजनीतिक दस्तावेजबाट पछाडि फर्केर अहिले फेरि अध्यक्ष ओली र उनी निकट नेताहरूले बहुदलीय जनवाद नै हुनुपर्ने तर्क गर्न थालेका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यललले तयार पारेको मस्यौदा स्थायी समितिबाट पारित गरेर सम्पादनसहित प्रकाशन गर्न अध्यक्षद्वय ओली र प्रचण्डलाई दिइएकोमा करिब १४ महिनापछि सचिवालयको बैठकमा यसले फेरि प्रवेश पाएको थियो । सैद्धान्तिक विषयमा पुनः छलफल आरम्भ भएसँगै नेकपामा विवाद सुरु भएको हो ।

एक बर्षसम्म कुनै छलफल नभएको राजनीतिक दस्तावेजको विषय एक्कासी फेरि प्रवेश हुनुलाई नेताहरुले अर्थपूर्ण ठानेका छन् । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्नका लागि एजेन्डा तय भएर दुई पटक बैठक बस्नुका साथै नाम समेत प्रस्तुत भइसकेपछि त्यसलाई पन्छाएर एकाएक राजनीतिक दस्तावेजको प्रस्ताव ल्याएर अध्यक्ष ओलीले विषयान्तर गर्न खोजेको एक नेताले बताए ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिट्ब्यूरो गठन, केन्द्रीय निकायहरुको निर्माण, प्रवासका संगठनहरु गठन, बाँकी जनसंगठनहरुको एकता जस्ता कुराहरुमा आफू अप्ठेरोमा परेको आँकलन गरेर अध्यक्ष ओलीले बीचैमा राजनीतिक दस्तावेजको विषय निकालेको प्रचण्ड पक्षधरको बुझाइ छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्तामा ओलीले आफूमाथि दबाब बढेको उल्लेख गर्दै पार्टीको राजनीतिक दस्तावेजमा पूर्वएमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद (जबज) नै लेखेर जाऊँ भन्ने प्रस्ताव राखेका थिए ।

२०७५ जेठ ३ गते दुई पार्टीबीच एकता हुँदा दुबै पार्टीका पूर्वमान्यताहरुलाई स्थगित गरेर ‘जनताको जनवाद’ मानेर जाने सहमति भएकोमा एक बर्षपछि आएर नयाँ प्रस्ताव राख्दा आफू आश्चर्यचकित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कुनै हालतमा त्यसो गर्न नसकिने जानकारी ओलीलाई दिएका थिए । प्रचण्डले ओलीलाई भने, ‘अहिले आएर फेरि बहुदलीय जनवाद नै भन्नुको कारण मैले बुझिनँ । मैले पनि माओवाद र एक्काइसौँ शताब्दीको जनवाद स्थगन गरेर एकता गरेको हुँ, साथीहरुलाई के भन्ने ? त्यसपछि ओलीले सचिवालय बैठकमा थप छलफल गर्न प्रस्ताव गरेका थिए ।

ओलीसँगको कुराकानी तितो भएपछि प्रचण्डले आफूनिकट केही नेताहरुलाई आकस्मिक रुपमा खुमलटारमा बोलाए । उनले ओलीसँग भएका कुराकानी ब्रिफिङ गर्नुको साथै ‘अब कसरी जाने’ भनेर राय लिएको बैठकमा सहभागी एक नेताले बताए । चुनाव चिन्ह एमालेकै भयो, मुख्य एक नम्बर नेता एमालेकै भयो, केन्द्रीय कार्यालय एमालेकै भयो, अधिकांश जनसंगठनमा नेतृत्व एमालेकै भयो । अब हुँदाहुँदा सिद्धान्त पनि एमालेले भन्ने गरेकै जबज भनिदिने हो भने हाम्रो बाँकी के नै रह्यो र ? यो त आत्मसमर्पण भएन र ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

Womui
Womui