सशस्त्र प्रहरीका सुरक्षाकर्मी बाढीको पुर्वअभ्यासमा

104

( बाँके ) राप्तीसोनारी, असार ७-
बाढीले पुर्याउन सक्ने सम्भावित क्षति न्युनिकरण गर्न सशस्त्र प्रहरीले आफ्नो जनशक्ति तयारी अवस्थामा राखेको छ । बर्खायामको समयमा राप्ती नदी र विभिन्न खोलानालाको बाढीले ठुलो क्षति पुर्याउने गरेको छ । बाँके र बर्दियामा हुन सक्ने बाढीलाई लक्षित गरी सशस्त्र प्रहरी बलले आफ्ना ४९ जना सुरक्षाकर्मीलाई पुर्नताजकी तालिम दिएको हो । राप्तीनदीको अगैयाघाटमा उनीहरुलाई प्रयोगात्मक अभ्याससहित पुर्नताजकी तालिम दिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० हेडक्वाटर बाँकेका सशस्त्र प्रहरी उपरिक्षक(एसपी) भेषबहादुर शाहले जानकारी दिए । उनका अनुसार बाँके र बर्दियामा हुने विपदलाई लक्षित गरेर सम्शेरगन्जमा सुरक्षा बेस राखिएको छ ।
उक्त बेसमा कार्यरत सुरक्षाकर्मी बाँके र बर्दियासहित प्रदेश पाँचमा आवश्यकता अनुसार तैनाथ हुने शाहले बताए । ‘बाढीलाई लक्षित गरेर बेसमा कार्यरत सुरक्षाकर्मीलाई तालिम दिएका हौं,’ उनले भने । तालिम प्राप्त सुरक्षाकर्मी मौसम अनुसार हुने विपद ब्यवस्थापनमा परिचालन हुने शाहले जानकारी दिए ।

बाँके र बर्दियामा विपद ब्यवस्थापनका लागि सशस्त्र प्रहरी बललाई उद्धार सामाग्री पर्याप्त नै भएको उनले बताए । ‘हामीलाई केही सामान अपुग होला, तर त्यो बाहेक चाहिने आवश्यक सामान हामीसँग पर्याप्त नै छ,’ शाहले भने । उनका अनुसार शसस्त्र प्रहरी बल केन्द्रीय कार्यालयबाट खटिएर आएका प्रहरी निरीक्षकले प्रशिक्षण दिईरहेका छन् । ‘जोखिममा परेका आम जनताको उद्धार गर्न सकिन्छ र बढी भन्दाबढी जनधनको क्षति न्युनिकरण गर्न सकिन्छ भन्ने हिसाबले सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयको अग्रसरतामा यो तालिम दिइएको हो,’ उनले थपे । तालिममा सहभागी सुरक्षाकर्मीलाई प्रशिक्षकले राप्ती नदीमै लगेर ब्यवहारिक कुरा सिकाउँछन् । तालिमका प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक पुरुषोतम भण्डारीले बाढीमा फसेकालाई कसरी उद्धार गर्ने, रबरबोट कसरी चलाउने जस्ता पक्षमा ब्यवहारिक कुराको पुर्नताजकी गराइएको बताए । ‘जसले पहिल्यै डिज्यास्टर म्यानेजमेन्टको तालिम लिईसकेका छन्, तिनलाई फेरी पुर्नताजगी होस् भनेर तालिम दिईरहेका छौं,’ उनले भने ।

केन्द्रिय विपद ब्यवस्थापन समितिको नजरमा बाँके र बर्दिया बाढीको उच्च जोखिमयुक्त जिल्ला मानिन्छन् । बाँकेमा राप्ती नदी र विभिन्न खहरे खोलाको बाढी तथा बर्दियामा बबई लगायत विभिन्न खोला नालामा आउने बाढीले धनजनको क्षति पुर्याउछ । बर्खा सुरु हुनै लाग्दा बाँकेको कतिपय ठाउँमा बाढीको त्रास उत्पन्न भईसकेको छ । बाढीको जोखिम न्युनिकरण गर्न जिल्ला र प्रत्येक स्थानीय तहमा पुर्वतयारी गरिएको जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेल बताउँछन् । ‘बाँके जिल्लामा बाढी र डुबानको मुख्य समस्या छ, बाढीलाई लक्षित गरेर आवश्यक तयारी गरेका छौं, मातहतका सुरक्षा युनिटलाई निर्देशन पनि भएको छ, हाम्रो जिल्लाको हकमा पर्याप्त तयारी गरेका छौं,’ उनले भने । विपद ब्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी बाँकेमा झण्डै १६ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्न सकिने प्रजिअ भुजेलले सुनाए ।

हरेक वर्षको बर्खायाममा बाढीबाट प्रभावित हुने राप्तीसोनारी गाउँपालिकाले जिल्ला विपद ब्यवस्थापन समितिसँगको समन्वयमा पुर्व तयारी गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु स्थानीय रुपमा पनि विपद ब्यवस्थापन समितिलाई क्रियाशिल बनाएर विभिन्न पुर्व तयारी गरिएको बताउँछन् । ‘स्थानीय विपद ब्यवस्थापन समितिले पहिलाको भन्दा फरक ढंगले काम गरेको अवस्था छ, विपदको कुनै सिमा हुदैन, कहिले सानो हुन सक्छ, कहिले ठुलो पनि हुनसक्छ, तर हामी चाही तयारी अवस्थामै छौं,’ उनले भने । स्थानीय विपद ब्यवस्थापन समितिले बाढी पुर्वतयारीका लागि ३५ लाख बराबरको सामाग्री सुरक्षाकर्मीलाई उपलब्ध गराएको अध्यक्ष थारुले जानकारी दिए । ‘राप्तीसोनारी गाउँपालिकामा ३ वटा रबरबोट छ, रबर बोट चलाउनेलाई तालिम पनि दिएको अवस्था छ,’ उनले भने ‘केही परिआयो भनेपनि उद्धार गर्न हामी ढुक्क छौं जस्तो लागेको छ ।’

Womui
Womui