नेपालका किसानसँग १० करोडलाई पाल्ने ल्याकत छः प्रचण्ड

37

छिनछिन खबर
चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिमा क्रान्ति गर्नका लागि आफू राजनीतिमा होमिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको उद्घाटन गर्दै प्रचण्डले रामपुर कलेजबाटै आफूले स्नातक गरेको बताउदैँ समान्य किसानको छोरा हुनुको नाताले कृषि क्रान्ति गर्न राजनीतिमा होमिएको बताए ।

‘हिजो मैले कृषिमा स्नातक गर्दा यही अगाडिको रामपुर कलेजबाट गरेँ’ पुराना दिन सम्झँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला दस कठ्ठामा धानखेती गरेको थिएँ । मैले ट्याक्टर चलाउन सिकेको यही कृषि कलेजमा हो । सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ ।’ आधुनिकीकरण गरी चक्लाबन्दीद्वारा सामुहिक खेती प्रणालीको आफ्नै मोडालिटीको विकास गर्न सकिने उनको भनाइ छ ।

‘राजनीतिक नेतृत्वको हैसियतले र यहाँ पढेको विद्यार्थी भएको नाताले कृषिमा क्रान्ति ल्याउने आकांक्षा लिएर अगाडि बढ्न जरुरी छ’ अध्यक्ष प्रचण्डले भने, ‘यो विश्वविद्यालयको विकास हामी सबैको संकल्पलेमात्र सम्भव छ । यसका लागि योजनावद्ध ढंगले हामी अगाडि बढ्नेछौं ।’

प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात हुने बताए । ‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि हुँदैन’ उनले भने, ‘कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगले मात्रै हामीले नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ ।’
नेपालमा कृषिको विविधिकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको यसमा सदुपयोग गरेर तीन करोड होइन, दस करोड जनालाई खान पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानहरुमा रहेको उनको भनाइ छ । उनले कृषिमा विज्ञान र प्रविधिको उच्च प्रयोग हुनु पर्ने बताए । इजरायल, चीन र भारतबाट कृषिको विकासका लागि सिक्नु पर्ने प्रचण्डको भनाइ छ ।

Womui
Womui