शिक्षाको स्तरले स्वास्थ्यमा कति प्रभाव पार्छ ?

106

अस्टिन फ्राक्ट
शिक्षा र स्वास्थ्यको गुणस्तर अन्तरसम्बन्धित छ । तर, शिक्षाले नै स्वास्थ्य राम्रो हुन्छ भनेर पुष्टि गर्न सजिलो छैन । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाए अनुसार थोरै भए पनि कलेजको शिक्षा लिएका व्यक्तिको मृत्युदर शिक्षा नलिएकाहरूको तुलनामा आधा कम हुन्छ ।बढी शिक्षित व्यक्ति कम चिन्ता र उदासिन हुने, कार्यसम्पादनमा थोरै समस्या हुने र मधुमेह, मुटु तथा श्वासप्रश्वासको रोग वा दमजस्ता गम्भीर स्वास्थ्य समस्या पनि कम हुने अध्ययनले देखाएको छ । तर, कार्यकारण दुबैतर्फ हुन्छ ।
सानै उमेरदेखि कमजोर स्वास्थ्य भएका मानिसहरू स्वस्थ व्यक्तिको तुलनामा उच्च शिक्षा लिन असमर्थ हुन सक्छन् ।

अर्काेतिर दीर्घकालीन परिणाम केन्द्रित व्यक्ति उच्च शिक्षा लिनबाट बञ्चित भए पनि नियमित व्यायामजस्तो स्वस्थ बानी विकास गर्न उत्प्रेरित हुन सक्छन् । केही अध्ययन प्राकृतिक परीक्षणबाट शिक्षाको कार्यकारण प्रभाव निकाल्न सफल भएका छन् । यु.सि.एल.एकी अर्थ्विद् एड्रियाना युरेस–मुनीले सन् १९१५ देखि १९३९ सम्म लागु गरिएका बाध्यकारी शिक्षा कानूनको आधारमा अध्ययन गरेकी थिइन् । यी कानून अनुसार केही बालबालिकाले बढी शिक्षा आर्जन गर्नुपर्ने व्यवस्था थियो। उनीहरू अलि बढी समय बाँचेको देखियो । अध्ययन अनुसार सन् १९६० सम्म थप एक वर्ष शिक्षा लिँदा ३५ वर्षको उमेरमा औसत आयु १.७ वर्षले बढेको छ ।

कमजोर श्रम बजार वा भियतनाम युद्धताका सेनामा भर्ती नहुने बहानामा उच्च शिक्षा लिने अभिप्रेरणाले स्वास्थ्यमा सुधार भएको र धुमपान गर्ने सम्भावना पनि घटेको अध्ययनमा देखियो। शिक्षाले स्वास्थ्यमा कसरी प्रभाव पार्छ ? यो नतिजाले देखाउँछ। यसले मानिसहरूलाई जोखिमपूर्ण व्यवहारमा संलग्न हुनबाट रोक्छ । सामान्यतया उच्च शिक्षाले दिने उच्च आय जोखिममा पर्नसक्ने भएकाले यस्तो भएको हुनसक्छ । तर, स्वास्थ्यसम्बन्धी व्यवहारले शिक्षा र मृत्युदरको सम्बन्धको एउटा अंशमात्रै व्याख्या गर्नसक्छ। शिक्षाले सूचना विश्लेषण गर्ने र जटिल समस्या समाधान गर्ने सीप पनि दिनसक्छ ।

आधुनिक स्वास्थ्य प्रणालीबारे खोज गर्ने र दीर्घरोगको उपचारमा यस्को ठूलो महत्व छ। उच्च शिक्षा, उच्च आय र बढी सम्पत्तिसँग पनि जोडिएको छ। यी सबै स्वस्थ जीवनसँग अन्तरसम्बन्धित छन् । फेरि पनि कार्यकारण दुबैतर्फ हुन्छ। उदाहरणका लागि रोजगार हुन वा लामो समयसम्म काम गर्नलाई स्वस्थ हुनु आवश्यक हुन्छ। उच्च आयसँगै उच्च स्वास्थ्य बीमा र स्वास्थ्य स्याहारको सहज पहुँच पनि निश्चित हुन्छ । स्वास्थ्यमा आम्दानीको अधिकांश प्रभाव बाल्यकालदेखि नै सुरू हुन्छ ।

धनी आमाबाबुका सन्तानको स्वास्थ्य राम्रो हुने धेरै अध्ययनले देखाएको छ । प्रसूतिपूर्व स्याहार–सुसारको राम्रो पहुँच, पोषण वा कम प्रदूषित वातावरणमा बस्ने भएकाले यस्तो हुनसक्छ। स्वस्थ बाल्यकालको अर्थ स्वस्थ वयस्क पनि हो । धेरै कमाउने आमाबाबुबाट जन्मिएका सन्तानले धेरै शिक्षा लिने र आफैं पनि धेरै आम्दानी गर्ने सम्भावना बढी हुन्छ ।

यसरी हरेक पुस्ताबीच आम्दानी र स्वास्थ्यको सम्बन्ध प्रसार भइरहेको हुनसक्छ । उच्च शिक्षा र सम्पत्तिले सामाजिक हैसियत वा वरियता पनि बढाउनसक्छ जुन स्वास्थ्यसँगै जोडिन्छ । सन् १९७८ मा प्रकाशित एउटा ऐतिहासिक अध्ययनमा उच्च–पदस्थ बेलायती कर्मचारीको मृत्यु मृटुरोगका कारण हुने सम्भावना कम भएको पत्ता लाग्यो।

कनिष्ठ पदमा कार्यरत कर्मचारी मोटा थिए । उनीहरूको रक्तचाप र ‘ब्लड सुगर’ पनि उच्च थियो । धुमपान पनि अत्यधिक गर्थे । सामाजिक वरियता र स्वास्थ्यको यही सम्बन्धलाई धेरै अनुसन्धानले दोर्होयाएका छन् । सामाजिक प्रतिष्ठा र स्वास्थ्यलाई जोड्ने एउटा रोचक ‘हाइपोथेसिस’ पनि छ । निम्न हैसियत भएका मानिसको जीवन बढी तनावपूर्ण हुन्छ ।

तनावले रगतको बहाव हेरफेर गर्दछ । यसले तन्तु नष्ट गर्ने हर्माेन उत्पादन गर्दछ र रोग प्रतिरोधात्मक क्षमता दबाउँछ । फलस्वरूप मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग र मृत्युदरको जोखिम बढ्छ । एउटा अध्ययनले बाल्यकालको गरिबीलाई दीर्घकालीन तनावसँग जोडेको छ । यसले स्मरणशक्ति घट्दै जाने देखिएको छ । शिक्षा, आम्दानी र स्वास्थ्यमा पनि प्रभाव पर्दछ । गर्भावस्थामा हुने तनावले भ्रुणको स्वास्थ्यलाई समेत प्रभाव पर्ने र जीवन पर्यन्त कायम हुने अनुसन्धानमा देखिएको छ ।

जाति र जातीय समूहले पनि स्वास्थ्यमा प्रभाव पर्छ र सामाजिक प्रतिष्ठामा ठूलो भूमिका खेल्दछ । उदाहरणका लागि श्वेत अमेरिकीको तुलनामा अफ्रिकी–अमेरिकीको मृत्युदर उच्च हुन्छ । आम्दानी र शिक्षा समायोजन गर्दा पनि यही नजिता निस्कन्छ । यहाँ पनि बाल्यकालको ठूलो प्रभाव छ । अफ्रिकी–अमेरिकी नवजात शिशु समय नपुगी जन्मिने सम्भावना धेरै हुन्छ ।

तौल पनि थोरै हुन्छ ।
प्रसूतिपूर्व स्याहार–सुसारको कम पहुँच हुनु एउटा कारण हुनसक्छ । अफ्रिकी–अमेरिकी बिरामीले रोकथाममूलक स्वास्थ्य स्याहार पाउने सम्भावना पनि कम हुन्छ भने कम गुणस्तरीय अस्पताल र चिकित्सक भएको क्षेत्रमा बस्ने सम्भावना बढी हुन्छ। प्रतिकूल अवस्था तथा विभेद र सामुदायिक पृथकीकरणको लामो इतिहासले निम्त्याएको तनाव र अन्य असमानता यसको मूल कारण हो ।
औसत रूपमा बढी गरिब भए पनि तुलनायोग्य गैर–हिस्पेनिक श्वेत अमेरिकीभन्दा हिस्पेनिक बढी स्वस्थ हुन्छन् ।

यसलाई ‘हिस्पेनिक प्याराडक्स’ भनिन्छ। मूलवासी अमेरिकी नागरिकभन्दा हिस्पेनिक आप्रवासी बढी स्वस्थ हुने भएकाले यस्तो भएको हुनसक्छ। स्वस्थ मानिस नै बसाइँ सर्ने सम्भावना बढी हुन्छ । स्वास्थ्य सम्बन्धी व्यवहारका कारण पनि यस्तो भएको हुनसक्छ। उदाहरणका लागि श्वेत समकक्षीको तुलनामा हिस्पेनिकहरूले थोरै धुमपान र मद्यपान गर्ने सम्भावना बढी हुन्छ ।
यो शताब्दीमा कलेज डिग्री नलिएका अधवैंशे श्वेत अमेरिकीमाझ कथित निराशाको मृत्यु– आत्महत्या, लागुऔषधको ‘ओभरडोज’ वा अत्यधिक मद्यपानका कारण हुने मृत्यु बढेको छ । कम शिक्षितमाझ मृत्युदर बढेको छ तर थोरै भए पनि कलेजको शिक्षा लिने व्यक्तिको मृत्यु दर सन् २००७ देखि स्थिर वा कम भएको छ ।

सन् २०१२ मा ‘हाइ स्कूल डिप्लोमा’ नलिएका श्वेत महिलाको औसत आयु ७३.५ वर्ष भएको अनुसन्धाताले पत्ता लगाए। उनीहरूको दाँजोमा कलेज डिग्री लिएका श्वेत महिलाको औसत आयु ८३.९ वर्ष थियो। श्वेत पुरूषको हकमा, कलेज डिप्लोमा नलिनेहरू औसत ६७.५ वर्ष बाँच्थे भने कलेज डिग्री वा त्योभन्दा उच्च शिक्षा हासिल गरेकाहरू ८०.४ वर्ष बाँचेको अनुसन्धानले देखाएको छ ।
जीवनशैली, जिन, वातावरण र स्वास्थ्य प्रणालीले हाम्रो स्वास्थ्यमा प्रभाव पारेजस्तै शिक्षाको पनि भूमिका हुन्छ। ठ्याक्कै यति नै वा किन हामी भन्न सक्दैनौं। तर, न्यून शैक्षिक स्तरसँगै उमेर घट्नुले पछिल्ला वर्षहरूमा औसत अमेरिकी आयु घट्नु र अधिकांश अन्य विकसित राष्ट्रको प्रगतिको गतिभन्दा पछि पर्नुको कारण खुलाउन सहयोग गर्नसक्छ ।

(अस्टिन फ्राक्ट भि.ए. बोस्टन हेल्थकेयर सिस्टमको पार्टनर्ड एभिडेन्स–बेस्ड पोलिसि रिसोर्स सेन्टरका निर्देशक तथा बोस्टन युनिभर्सिटीको स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक हुन्। उनी दी इन्सिडेन्टल इकोनोमिस्टमा ब्लग लेख्छन्।

Womui
Womui