भारतीय सेनामा भर्ना गरिदिने भन्दै रकम असुल्ने गिरोह सक्रिय

147

नेपालगन्ज, जेठ २६-
भारतीय सेनामा भर्ना गरिदिने भन्दै लाखौं रूपैयाँ असुल्ने गिरोह नेपालगन्जमा सक्रिय भएको छ । उक्त गिरोहले भारतीय सेनामा भर्ती हुन आउने युवाहरुसँग प्रतिब्यक्ति एक लाखदेखी ८ लाखसम्म रकम असुलेको तथ्य बाहिर आएको हो । नेपालगन्जमा यही जेठ १६ देखी २३ गतेसम्म सञ्चालन गरिएको भर्ना छनोटमा ८ सय ९८ जना युवाले लिखित परिक्षा दिएका थिए । छनोट गर्न भारतबाट आएका उच्च सैनिक अधिकारीसँगको सेटिङमा ती गिरोहले युवाहरुबाट रकम असुलेका हुन् । रकम असुलेका युवालाई छनोटमा पार्न लिखित परिक्षाको प्रश्नपत्र समेत बाहिर ल्याएको तथ्य खुलेको छ ।

नेपालगन्जस्थित एक होटलबाट पक्राउ परेको गिरोह ।

भर्ती हुने युवाबाट असुलेको रकमसहित नेपालगन्जको एक होटलमा ५ जना भारतीय भुतपुर्व सैनिक र दुई महिला ३८ लाख रुपैयाँसहित पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो । सैनिक भर्तीमा रकम असुल्ने गरेको गुनासो ब्यापक रुपले बढेपछि ‘नेपाल भुतपुर्व सैनिक विकास समिति’ बाँकेले ‘सैनिक सर्च अभियान’ सञ्चालन गरेको थियो । उक्त टोलीको नेतृत्व समितिका अध्यक्ष भिम रानाले गरेका थिए । विशेष सूचनाको आधारमा सर्च अभियान टोली गत सोमबार(जेठ २० गते) राती नेपालगन्जको एक नाम चलेको होटलमा पुगेर रकम असुलीमा संलग्न रहेका पोखरा घर भएका ६६ बर्षिय एकबहादुर गुरुङ, सोही ठाउँका अन्दाजी ४१ बर्षका सुर्यबहादुर थापा, चितवनका ४५ बर्षिय रामकाजी पाण्डे, सोही ठाउँका अन्दाजी ४५ बर्षिय अर्जुन पोख्रेल, बुटवलका अन्दाजी ४६ बर्षिय निरबहादुर थापा तथा पोखरा घर भएकी २१ बर्षिया सुजाता पाठक र सर्मिला अधिकारीलाई नियन्त्रणमा लिएर बाँके प्रहरीको जिम्मा लगाएको हो । पक्राउ परेका मध्ये पाँच जना पुरुष भारतीय भुतपुर्व सैनिक रहेको बुझिएको छ । उनीहरुबाट बरामद गरिएको नगद ३८ लाख, ८४ थान मोबाईल र एउटा कार भुतपुर्व सैनिक विकास समितिले प्रहरीको जिम्मा लगाएको थियो ।

समितिका अध्यक्ष रानाका अनुसार उक्त होटलको कोठा नम्बर १०२, १०४ र १०५ बाट उक्त रकम बरामद गरिएको थियो । नियन्त्रणमा लिने वित्तिकै बाँके प्रहरीको जिम्मा लगाएपनि उनीहरु विरुद्ध कारबाही प्रक्रिया दु्रत गतिमा अगाडी नबढेको अध्यक्ष रानाले गुनासो गरे । ‘रकम असुल्ने ब्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगायौं, किटानी जाहेरी पनि दिईसकेका छौं, बरामद भएको रकम सबै बुझाएका छौं, तरपनि प्रहरीले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको छैन,’ शनिबार पत्रकारमाझ उनले भने ‘प्रहरीले अभियुक्तलाई पक्राउ गरेको २४ घण्टाभित्रमा मुद्दा चलाउनुपर्ने कानुनी ब्यवस्था छ, ९६ घण्टा वितिसक्दा पनि मुद्दा चलाएको छैन ।’

‘नेपाल भुतपुर्व सैनिक विकास समिति’ बाँकेले गरेको पत्रकार सम्मेलन ।

प्रहरीको हरेक ब्यवहारले शंका गर्ने पर्याप्त आधार रहेको रानाले बताए । रकम असुल्ने गिरोहलाई कारबाही गर्न प्रहरीले नै चासो नदेखाएको उनको आरोप छ । रकम ठगी गरेका अभियुक्तले कतिपय युवाको रकम फिर्ता गरेर कानुनी कारबाहीबाट बच्ने प्रयास पनि गरेको रानाले सुनाए । ‘अहिले उनीहरुले असुलेको एक लाखको सट्टा २ लाख फिर्ता गरेर पनि पीडित युवालाई बयान फेर्न लगाएको पनि हामीले पत्ता लगाएका छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाँकेले भने पक्राउ परेका सबै विरुद्ध ठगी मुद्दा दर्ता गरिसकेको जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले पक्राउ परेका ५ पुरुष र २ जना महिलाविरुद्ध ठगी मुद्दा चलाइएको बताए । ‘अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरु विरुद्ध ठगी मुद्दामा अनुसन्धान भईरहेको छ,’ उनले भने ‘अभियुक्त सबै प्रहरीको हिरासतमा छन् ।’ भारतीय गोर्खा सैनिक भर्ती केन्द्र यसअघि भारतमै हुने गरेपनि केही वर्षयता नेपालगन्ज, बुटवल, पोखरा, धरान लगायत स्थानमा हुन थालेको हो । आफ्नै देशमा भर्ती केन्द्र खुल्दा यहाँका बेरोजगार युवाले रोजगारीको अवसर प्राप्त गर्न पाएका छन् । तर, सैनिक भर्नामा पैसाको चलखेल हुन थालेपछि पछिल्लो समयमा छनोट प्रक्रियाको निश्पक्षता माथी नै प्रश्न उठ्न थालेको छ ।

भर्ना छनोट प्रक्रियामा भारत सरकारले उच्च सैनिक अधिकारी ‘ब्रिगेडियर’ अजय पासवोलाको नेतृत्वमा दुई वर्षका लागि करिव ५० जनाको टोली खटाउँदै आएको छ । भुतपुर्व सैनिक विकास समितिका अनुसार उक्त टोलीमा एक जना ब्रिगेडियरसहित ३ जना कर्णेल, १५ जना सुवदार मेजर सहितका अधिकारी सहभागी हुन्छन् । गिरोहले भारतीय उच्च सैनिक अधिकारीसँग सेटिङ मिलाएर प्रश्न पत्र बाहिर ल्याउनेदेखी युवाहरुबाट रकम असुली गर्ने गरेको समितिका पदाधिकारी बताउँछन् । यसअघि पोखरामा गत डिसेम्बरमा भर्ना छनोटका क्रममा भारतीय उच्च सैनिक अधिकारी र गिरोहको सेटिङमा प्रश्नपत्र बाहिरिएको अध्यक्ष रानाले स्मरण गराए । ‘सैनिक भर्ना छनोटमा आउने अधिकारीमाथी पनि भारत सरकारले आन्तरिक छानविन गरेर कारबाही गर्नुपर्छ,’ उनले भने । भारतीय सैनिकमा भर्ना हुन एक रुपैयाँ पनि शुल्क नलाग्ने भएकाले यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने समितिले जनाएको छ ।

Womui
Womui