कैलाली र कञ्चनपुरमा हावा हुरीले मच्चाएको वितण्डा

149

छिनछिन खबर
कैलाली, जेठ २४ । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीसहितको वर्षाले
वितण्डा मच्चाएको छ । क्षतिको लगत संकलन कार्य जारी छ । कैलालीका टिकापुर र गोदावरी नगरपालिका तथा कञ्चनपुरका बेदकोट र भीमदत्त नगरपालिकामा बढी क्षति पुगेको सम्बन्धित जिल्लाका दैवी प्रकोप राहत तथा उद्दार समितिले जनाएको छ ।कैलाली जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलालीमा हावाहुरीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरकी ४७ वर्षीया लाहानु चौधरी छिन् । उनको कुखुराको खोर भत्किँदा च्यापिएर मृत्यु भएको हो । यस्तै कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा बा३प ३८३६ नम्बरको टिपरसँग से २१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एक जवानले जानकारी दिए ।प्रजिअका अनुसार उद्धारको काम सकिएको र क्षतिको लगत संकलन सुरु गरिएको जानकारी दिए ।

क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने, ’पछिल्लो जानकारी अनुसार सेती अञ्चल अस्पतालसहित जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका ७७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ६६ जनालाई सामान्य उपचारपछि घर पठाइएको र अन्यको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।’प्रजिअ बोहराका अनुसार अवरुद्ध सडकहरु खुलाउने काम पनि भइरहको जानकारी दिए । उनले भने, ‘मुख्य राजमार्ग अवरुद्ध भएका छैनन् । शाखा सडकहरुमा रुख ढल्दा सवारी अवरुद्ध भएकाले खुलाउने काम भइरहेको छ ।’

उनले धेरै घरहरुका छाना उडाएका तथा कतिपय स्थानमा भने घर नै ढलाएको बताए । ‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको छ । कसैका घरका छाना उडेका छन् भने कसैका पर्खाल र घरसमेत भत्किएका छन् । कचनपुरमा घाइते भएका २३ मध्ये ८ जनालाई सेती अञ्चल अस्पताल रिफर गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

Womui
Womui