व्यापार घाटा कहालीलाग्दो, नौ महिनामा झण्डै १० खर्ब व्यापार घाटा

23

प्रनिलबहादुर खड्का
काठमाडौं–मुलुकको अर्थतन्त्र निकै नै कमजोर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा बित्तीय स्थितिबारे नौ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा कुल व्यापार घाटा २१.६ प्रतिशतले बढेर नौ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा निर्यात–आयात अनुपात ६.६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसममलव दुई प्रतिशतले वृद्धि भएको थियो । देशगत आधारमा भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । त्यस्तै चीनतर्फ २५.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दसमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९.२ प्रतिशत, चीनबाट भएको आयात ३५.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पाटपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा भने बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

Womui
Womui