कुसुमेश्वर बिद्यालयले मनायो १७ औं वार्षिकोत्सव

119

बाँके (कुसुम), बैशाख ३१-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियामा रहेको कुसुमेश्वर माध्यामिक बिद्यालयले मंगलबार आफ्नो १७ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुर्णबहादुर भण्डारीको सभापतित्व एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव समारोहमा बिद्यालयका छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरियो । बिद्यालयमा स्थापित ‘गुरुप्रसाद खत्री जेहेन्दार बिद्यार्थी छात्रवृत्ति २०७५’ विपना चौधरीले प्राप्त गरिन् । कुसुम निवासी पत्रकार पोषण केसीले आफ्नो पिताको सम्झनामा २०७३ सालमा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषको ब्याज रकमबाट २०७५ सालको बार्षिक परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याएर प्रथम हुने कक्षा ९ की छात्रा विपनालाई नगद ५ हजार १ सय र प्रमाणपत्र प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष थारु र पत्रकार केसीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । यसैगरी वैदेशिक रोजगारीमा गएका उक्त बिद्यालयका पुर्वबिद्यार्थीले स्थापना गरेको अक्षयकोषबाट ७ सयका दरले १२ जनालाई गरिव तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक रुपेन्द्र बस्नेतले जानकारी दिए । वैदेशिक रोजगारीमा गएका पुर्वबिद्यार्थीले पनि उक्त बिद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षय कोषको ब्याज रकमबाट हरेक वर्ष छात्रवृत्ति वितरण गरिन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष थारुले राप्तीसोनारी गाउँपालिकालाई शैक्षिक हव बनाइने बताए । शिक्षक अभावको समस्यालाई गाउँपालिकाले बजेटको ब्यवस्था गरेर समाधान गरेको बताउँदै भने, ‘गाउँपालिकाले पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई राखेको छ, शिक्षा नै विकासको मेरुदण्ड हो, हामीले शिक्षा क्षेत्रको विकासका लागि थुप्रै काम गरिसकेका छौं ।’ गाउँपालिकाको बजेटबाट १ सय भन्दा बढी शिक्षक विभिन्न बिद्यालयमा भर्ना गरिएको जानकारी दिदै कुनैपनि बिद्यालयले शिक्षकको अभाव खेप्न नपर्ने बताए । कार्यक्रममा बिद्यार्थीलाई शैक्षिक पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो, भने प्रधानाध्यापक बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उपस्थित अभिभावकबीच कुर्सी दौड प्रतियोगिता गरी पुरस्कृत गरियो । कार्यक्रम सञ्चालन शिक्षक लेखराज ओलीले गरेका थिए ।

Womui
Womui