’समाजवादी पार्टी, नेपाल’को औपचारिक घोषणा हुँदै

36

छिनछिन खबर
काठमाडौं, वैशाख २३ । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टीबीच भएको एकताको औपचारिक घोषणा आज हुँदैछ । शनिबार फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराईबीच एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुवै पार्टीको केन्द्रीय समितिको बैठकअनुसार एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्दै आज औपचारिक रुपमा नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका एक नेताले जानकारी दिए । नयाँ पार्टीको नाम ’समाजवादी पार्टी, नेपाल’ रहने सहमति भएको छ ।

 

केही समयअघि देखि नै छलफलमा रहेका दुबै दलले गत शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बैठक बस्दै एकताको टुंगो लगाएको थियो । दुई पार्टीबीच भएको सहमतिअनुसार डा बाबुराम भट्टराई एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष हुनेछन् । उपेन्द्र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन् ।

संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ । संघीय परिषद् एक हजार भन्दा बढी सदस्यीय हुने पनि बताइएको छ ।दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो बरियतामा रहनेछन् भने यादव दोस्रोमा रहनेछन् ।नयाँ पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने सहमति भएको फोरमका एक नेताले जानकारी दिए । जसमा फोरमबाट २ सय र नयाँ शक्तिबाट ९९ सदस्य रहनेछन् ।

समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने जनाइएको छ ।

Womui
Womui