युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार विजयी

39

एजेन्सी
युक्रेन–पूर्वी युरोपियन मुलुक युक्रेनमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएका छन् । ४१ वर्षीय जेलेन्स्कीले भारी मतले राष्ट्रपतीय चुनाव जितेका छन् । राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाएका छन् ।

उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याएका छन् । सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका छन् । त्यही भएर तीन साताअघि भएको पहिलो चरणमा ३० प्रतिशतमात्र मत पाएका उनले दोस्रो चरणमा आफ्नो पक्षमा ४५ प्रतिशत मत थपे ।

जबकि पहिलो चरणका ३७ उम्मेद्वारमध्ये १५ प्रतिशत मत पाएका राष्ट्रपतिले दोस्रो चरणमा १० प्रतिशत मात्र मत बढाउन सके । एक्जिट पोलका नतिजाहरू सार्वजनिक भएपछि राष्ट्रपति पोरोसेन्कोले चुनावी परिणामले अनिश्चितता र अस्थिरतातर्फ लिएको प्रतिक्रिया दिएका छन्। धनाढ्य पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो ।

‘म राष्ट्रपति कार्यालय छोड्नेछु तर जोड दिएर भन्न चाहन्छु, म राजनीति छोड्ने छैन,’ उनले भने । जेलेन्स्कीले भने समर्थकहरूलाई सम्बोधन गर्दै उनीहरूलाई निराश नपार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी अभियानमा कुनै राजनीतिक र सामाजिक विषयलाई भन्दा अरू उम्मेदवारभन्दा आफू किन ठीक छु भन्ने कुरालाई उनले एजेन्डा बनाएका थिए ।

युक्रेनका राष्ट्रपतिलाई सुरक्षा, प्रतिरक्षा र विदेश नीति निर्धारणमा विशेष भूमिका हुन्छ । चुनावी प्रचारताका सरकार कसरी चलाउने भन्ने स्पष्ट भिजन सार्वजनिक नगरेको, यसअघि कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा पनि स्टारडमको प्रयोग गरी नागरिकलाई हसाएर चुनाव जितेका जेलेन्स्कीले वास्तविक जीवनमा यसको प्रयोग कसरी गर्छन् भन्ने हेर्न बाँकी छ ।

Womui
Womui