नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

40

छिनछिन खबर
काठमाडौं– एकीकरणको ११ महिनापछि नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेता केही दिनयता छलफलमा जुटेका छन् । यसअघि एकीकरण प्रक्रियामा आफूलाई बेवास्ता गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट थिए उनीसँगको छलफलपछि एकीकरण टुंगोमा पुग्न लागेको हो । शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पौडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गरेका थिए ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारी बैसाख ९ गतेसम्म एकता प्रक्रिया टुंग्याउने तयारी भइरहेको एक नेताले छिनछिन खबरलाई बताए । नेताहरुबीच सहमति नजुट्दा जिल्लासहितका तल्लो तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लो ११ महिनादेखि अल्झिरहेको छ ।

यसअघि अध्यक्षद्वयबीच एकताका सम्बन्धमा सहमति जुटेपनि नेता नेपाल सहमतिमा आएका थिएनन् । नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन् । जनप्रतिनिधिमा निर्वा्चित र राजकीय मामिलामा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने उनको भनाइ छ । पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेको बताइएको छ ।

Womui
Womui