महिलाको रहस्यमय मृत्यु प्रकरण : दोषीलाई जोगाउन खोजिएको भन्दै प्रर्दशन

154

नेपालगन्ज, बैशाख ३-
नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरमा आइतबार दिउँसो एक बिबाहित महिलाको मृत्यु भयो । भृकुटीनगरका २० बर्षिय मुकेश बुढाक्षेत्रीसँग ७ महिनाअघि प्रेम बिबाह गरेकी थिईन्, १९ बर्षिया स्वस्तिका लिम्बुले । दिउँसो करिव २ बजेतिर कोठाभित्रै मृत अवस्थामा फेला परेकी उनको हत्या वा आत्महत्या भन्ने बारे अहिलेसम्म केही खुलेको छैन । यद्यपी मृतकका पति मुकेशले माईत जान जिद्दी गरेपछि सम्झाउँदा पतिले सलले पासो लगाएर कोठाभित्रै आत्महत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । ‘दिउँसो चर्को गर्मीमा पनि माईत जान जिद्दी गर्दा मैले बेलुका पख जाउँला भनेर सम्झाउँदा ढोका बन्द गरी भित्र आत्महत्या गरिन्,’ मुकेशको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो । घटना थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

मृतकको शरिरमा देखिएका निलडाम ।

प्रहरी त्यहाँ पुग्दा मृतक महिलाको शव झुण्डिएको नभई बेडमा लडिएको थियो । शरिरका विभिन्न ठाउँमा निलडाम र घाउँ जस्तो दृश्य देखिन्थ्यो । मृतकका पति मुकेशले पत्नीले ढोका लगाएर आत्महत्या गर्न खोजेपछि आफु छिमेकीलाई बोलाउन गएको र छिमेकीलाई बोलाएर आउँदा झुण्डिएको अवस्थामा फेला पारेपछि बचाउने उद्देश्यले ढोका फोडेर सल काटिएको बयान पनि दिएका छन् । तर, माईती पक्षले मृतकको शरिरभरी निलडाम र घाउ भएका कारण उनको कुटपिटबाट हत्या भएको जिकिर गर्दै आएका छन् ।

मृतकको शरिरमा देखिएका निलडाम ।

दोषीलाई जोगाउन राजनीतिक दवाव बढेको भन्दै माईती पक्षले कारबाहीको माग गर्दै अचेल दिनहँुजसो प्रर्दशन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बााँकेले भने मृतकका पति मुकेशलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिसकेको जनाएको छ । माईती पक्षले सोमबार र मंगलबार नेपालगन्जमा प्रर्दशन गरेका छन् । दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा उनीहरुले ज्ञापन पत्र पनि बुझाए ।

दोषीलाई कारबाहीको माग गर्दै मंगलबार गरिएको प्रर्दशन ।

‘प्रहरीले मुद्दा दर्ता गरेर प्रक्रिया अगाडी बढाईसकेको छ,’ जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले भने ‘मृतकका आफन्तले चाही प्रर्दशन गरिरहेका छन् ।’ प्रहरी अनुसन्धानलाई प्रभाव पार्न कतैबाट पनि राजनीतिक दवाव नआएको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेकाले वास्तविक कुरा पत्ता लाग्ने प्रहरी उपरिक्षक पौडेलको विश्वास छ । घटनाका दोषीलाई कारबाहीबाट जोगाउन राजनीतिक चलखेल भएको माईती पक्षको आरोप छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद नन्दलाल रोकाय लगायतका नेताहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीलाई दवाव दिएको मृतकका माईती पक्षले बताएका छन् । सांसद रोकाय सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पुगेपछि माईती पक्ष झन् शशंकित बनेका हुन् ।

दोषीलाई कारबाहीको माग गर्दै मंगलबार गरिएको प्रर्दशन ।

मृतकका पति मुकेश सांसद रोकायका नाति रहेको प्रहरी स्रोतले जनाएको छ । बाजेको राजनीतिक पावर लगाएर मुकेश कारबाहीबाट उम्किने प्रयास गरेको माईती पक्षको आरोप छ । घटनाको अनुसन्धान सुरु गरेपनि प्रहरीले हत्या वा आत्महत्या बारे अझै एकिन गर्न सकेको छैन । मृतकको शवको पोष्टमार्टम पनि हुन सकेको छैन । माईती पक्षले दिनहुँ प्रर्दशन गर्न थालेपछि प्रहरीलाई घटनाको सत्य तथ्य पत्ता लगाउन नैतिक रुपमा दवाव बढेको छ । ठुलो संख्यामा प्रर्दशनमा सहभागी हुन आएका मृतकका आफन्त तथा माईती पक्षले कारबाहीका लागि दवाव दिईरहेका छन् ।

Womui
Womui