वैवाहिक जीवन सफल बनाउने पाँच वैज्ञानिक सुत्र

158

एजेन्सी–सुखद र सफल सम्बन्धको पूर्ण समाधान छैन । तर, विज्ञान त्यसको नजिक पक्कै पुगेको छ। विवाहित दम्पत्तिको सर्वेक्षण, उनीहरूको अन्तर्क्िरया र आनीबानीको अध्ययन गरेर मनोवैज्ञानिकहरूले सफल सम्बन्धका धेरै साझा पाटाहरू पत्ता लगाएका छन् ।

१.सुखी दम्पत्तिले साताको एक पटक यौन सम्पर्क राख्छन्
सोसाइटी फर पर्सनालिटी एण्ड सोसल साइकोलोजीले चार दशक लगाएर ३० हजार अमेरिकीको सर्वेक्षण गरेको छ । साताको एक पटक यौन सम्पर्क राख्ने दम्पत्ति सबैभन्दा खुशी हुने सर्वेक्षणको नतिजाले देखाएको छ । जति बढी यौन सम्पर्क राख्यो, दम्पत्ति त्यति नै धेरै खुशी हुने अनुसन्धाताहरूको निष्कर्ष छ । तर यसको सीमा छ । साताको एक पटक यौन सम्पर्क राख्ने सहभागीहरू खुशी र सन्तुष्ट देखिए पनि एक पटकभन्दा धेरै यौन सम्पर्क राख्नाले सहभागीमा खुशीको स्तर नबढेको बताइएको छ ।
‘जीवनसाथीसँग आत्मीय सम्बन्ध राख्नु महत्वपूर्ण भएको हाम्रो अध्ययनले देखाएको छ । त्यो सम्बन्ध कायम भए दैनिक यौन सम्पर्क जरूरी छैन,’ प्रमुख अनुसन्धाता एमी मुइसले भनिन् ।

२.सँगै पिउने दम्पत्ति साथै रहन्छन्
जर्नल्स अफ जेरोन्टोलोजी बिः साइकोलोजिकल साइन्सेसमा एउटा अध्ययनको प्रतिवेदन छापियो। मिल्दोजुल्दो पिउने बानी भएका जोडी धेरै खुशी हुने त्यसमा उल्लेख थियो । अध्ययनमा करिब पाँच हजार विवाहित जोडी सहभागी थिए । सँगै पिउने वा सँगसँगै अन्य गतिविधिमा संलग्न हुनाले, प्रत्येक जोडीले एक–अर्कासँग धेरै समय बिताउँछन् । यसले उनीहरूको सम्बन्ध विस्तार गर्न सहयोग गर्छ ।

३.कम ‘मटिरियलिस्टिक’ दम्पत्ति बढी सन्तुष्ट
तेह्र सय विवाहित व्यक्तिको सर्वेक्षण र जर्नल अफ फेमिली एन्ड इकोनोमिक इस्युसमा प्रकाशित त्यसको प्रतिवेदनमा ‘मटिरियलिजम’ अर्थात भौतिकवाद न्यून वैवाहिक सन्तुष्टिसँग जोडिएको पत्ता लागेको छ । दम्पत्तिले परामर्श खोज्ने र सम्बन्ध विच्छेद गर्ने प्रमुख कारण पैसा नै रहेको समाचार यसअघि पनि प्रकाशित भएका छन् ।
विवाहित जोडी सम्पत्ति र भौतिक अधिकारको पछाडि जति कम लाग्छन्, त्यति नै बढी एकअर्कालाई समय दिन सक्छन्। यसले उनीहरूको सम्बन्धलाई पनि उत्तिकै फाइदा पुग्ने देखिन्छ ।
४.अप्ठ्यारो संवाद सुरू गर्ने तरिकाले सम्बन्धको सफलता निर्धारण गर्दछ । मनोवैज्ञानिक अनुसन्धाता जोन गोटम्यानले एक सय ३० जना नवविवाहित जोडीलाई प्रश्नोत्तर फारम भर्न लगाए । त्यसपछि उनीहरूको सम्बन्धमा भएका असहमतिबारे १५ मिनेट छलफल गर्न लगाए । सुरूका केही मिनेट कम नकारात्मक प्रभावबाट संवाद सुरू गर्ने जोडी दिगो हुने सम्भावना धेरै रहेको उनले पत्ता लगाए। उनीहरू ‘नेगेटिभिटी’ घटाउन पनि सक्षम हुन्छन् । यसको विपरित ‘कठोर सुरूआत’ बाट संवाद सुरू गर्ने सबै १७ दम्पत्तिको पछि सम्बन्ध विच्छेद भयो। उनीहरूले सकारात्मकभन्दा नकारात्मक भावनाको बढी प्रदर्शन गरेका थिए। उनले चार प्रकारका नकारात्मक पक्षलाई ‘फोर होर्समेन’ भनी उल्लेख गरेका छन् । उनका अनुसार आलोचना, निन्दा, प्रतिकार र ‘स्टोनवालिङ’ (कुरा गर्न अस्वीकार गर्नु र बहस अन्तै मोड्ने) ले सम्बन्धमा तिक्तता ल्याउनसक्छ। सहानुभूति र करूणाभावका साथ बहस वा कठोर संवाद सुरू गर्नु, विवाह दिगो हुने संकेत हो ।

५.उत्साहका साथ एकअर्कालाई सहयोग गरे सकारात्मक सम्बन्धको निर्माण हुन्छ
एकअर्काका उपलब्धिमा उत्साहका साथ सहयोग र अभिरूचि देखाउनु ‘कनेक्सन’ को महत्वपूर्ण विधि हो ।
जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकोलोजीमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा मनोविज्ञानकी प्राध्यापक शेली ग्याबलले शुभ समाचारप्रति विवाहित जोडीले प्रदर्शन गर्ने चार प्रकारका सम्भावित प्रतिक्रियालाई वर्गिकरण गरेकी छिन्

क) ‘एक्टिभ कन्स्ट्रक्टिभ’ – उत्साही, सहयोगी, अभिरूचि वा चासो राख्ने ।
ख) ‘प्यासिभ कन्स्ट्रक्टिभ’ – तुलनात्मक रूपले सकारात्मक तर, खासै वा अभिरूचि र चासो नराख्ने।
ग) ‘प्यासिभ डिस्ट्रक्टिभ’ – अभिरूचि वा चासो नराख्ने र विषय परिवर्तन गर्ने।
घ) ‘एक्टिभ डिस्ट्रक्टिभ’ – समाचारप्रति उपेक्षाभाव राख्ने वा कम महत्व दिने ।

शुभ समाचारप्रति ‘एक्टिभ कन्स्ट्रक्टिभ’ प्रतिक्रिया दिनेहरू जीवनसाथीको भावनात्मक आवश्यकता पूरा गर्दछन् । सकारात्मक भावनाका अनुभव प्रोत्साहन गर्दछन् । अर्काे शब्दमा, सम्बन्धलाई बलियो गरी जोडेर राख्ने आधार नै यही हो ।

Womui
Womui