कर्णालीका सबै कारागारमा पुस्तकालय

135

सुर्खेत – कर्णालीका १० वटै जिल्ला कारागारमा एकसाथ पुस्तकालय स्थापना गरिएका छन् । मदन पुरस्कार विजेता प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले सुरु गरेको अभियान अन्तर्गत ती पुस्तकालय स्थापना गरिएका हुन् ।


‘कारागारका लागि पुस्तक अभियान’ सञ्चालन गर्न प्रदेशस्तरमा डिआइजी शाहको संयोजकत्वमा मूल समिति र जिल्लाहरूमा प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा उपसमितिहरू गठन गरिएका थिए । ‘चार महिनाको अवधिमा २१ लाख रुपैयाँ बराबरका आठ हजार तीन सय ८८ पुस्तक संकलन गरेर एकैपटक १० वटै जिल्लामा पुस्तकालय स्थापना गर्न हामी सफल भयौं,’ डिआइजी शाहले भने, ‘प्रदेश स्तरबाट चार हजार दुई ८२ र जिल्लास्तरबाट चार हजार एक सय ६ ओटा पुस्तक संकलन गरेका छौं ।’

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको जानकारी दिए । ‘पुस्तकको माध्यमबाट आपराधिक मानसिकताबाट असल नागरिक बनाउने उद्देश्यअन्तर्गत कारागारका लागि पुस्तक अभियानको सुरुवात गरेका थियौं,’ डिआइजी शाहले भने, ‘छोटो समयमै उल्लेख्य मात्रामा पुस्तक संकलन गरी पुस्तकालय स्थापना गर्न सफल भएका छौं।’ विभिन्न अपराधमा जेलजीवन बिताइरहेका कैदीबन्दीको जीवन परिवर्तन गर्दै समाजप्रति उत्तरदायी बनाउने उद्देश्यअन्तर्गत पुस्तकालय स्थापना गरिएको हो ।

डिआइजी शाहले प्रायः पहिलोपटक अपराध गरी जेलजीवन बिताइरहेकाको संख्या धेरै रहेको र फेरि उनीहरू अपराधको बाटोमा नहिँडून् भन्नका लागि पुस्तकालय अभियान प्रभावकारी हुने बताए ।

सुर्खेत जिल्ला कारागारमा कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अरू जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले पुस्तकालयको उद्घाटन गरेका थिए । पुस्तकालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले असल नागरिक बन्न शिक्षा अनिवार्य रहेको बताए ।

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु भएको यो अभियान कैदीबन्दीका लागि जीवन रूपान्तरणको महत्वपूर्ण अध्याय हो,’ उनले भने, ‘कर्णालीबाट सुरु भएको यो अभियानलाई देशैभर पु¥याउन आवश्यक छ।’ उनले जुनसुकै अपराधमा कारागारको चार पर्खालभित्र रहे पनि कैदीबन्दीहरूलाई अब समाजमा फर्कंदासम्म उदाहरणीय बनेर देखाउन आग्रह गरे । डोल्पा जिल्ला कारागारमा पनि पुस्तकालय स्थापना गरिएको छ।

सेतो धरती उपन्यासका लेखक अमर न्यौपानेको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले पुस्तकालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रजिअ केशरीले पुस्तक नै मानिस परिवर्तनको एक मात्र अस्त्र भएको बताए। प्रहरी नायब उपरीक्षक अभदेश विष्टले पुस्तकालयमा चार सय ५० थान विभिन्न लेखकका पुस्तक राखिएको बताए। जिल्ला कारगार डोल्पामा ३१ जना कैदीबन्दी रहेका छन् ।
बुक क्लब गठन
कारागारमा पुस्तकालय स्थापनासँगै ‘बुक क्लब’ पनि गठन गरिएको छ। कारागारमा रहेका कैदीबन्दीहरूकै नेतृत्वमा गठित क्लबहरूले अन्य कैदीबन्दीलाई पुस्तक पढ्न अभिप्रेरित गर्नेछन्। यसका साथै क्लबहरूले हरेक शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछन्। ‘अन्तरक्रिया कार्यक्रममा आफूले पढेका पुस्तकमाथि छलफल गर्नुका साथै सम्भव भएसम्म लेखकहरूसँग पनि अन्तरक्रिया गराइनेछ,’ डिआइजी शाहले भने, ‘धेरै पुस्तक पढ्ने कैदीबन्दीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत राखेका छौं।’ कैदीबन्दीले पुरस्कारको रूपमा थप पुस्तकहरू पाउने भएका छन् ।

लेखकहरूसँग कैदी
पुस्तकालय स्थापनासँगै कैदीबन्दीले ख्यातिप्राप्त साहित्यकारहरूसँग साक्षात्कार गर्ने र पुस्तकमाथि विमर्श गर्नेे अवसर प्राप्त गरेका थिए। पुस्तकालय उद्घाटन र पुस्तकमाथि विमर्श गर्न वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार नयनराज पाण्डे, अमर न्यौपाने, कुमार नगरकोटी, उमा सुवेदी, अर्चना थापा, सुविन भट्टराई, युग पाठक, कवि नवराज पराजुली, निबन्धकार शेखर खरेल, कुमारी लामा, मदन पुरस्कार विजेता लेखक रामलाल जोशी, कथाकार राजेन्द्र पराजुली, सिवानीसिंह थारूलगायत चर्चित साहित्यकार कर्णाली आएका थिए ।

पहुँचबाहिर पुस्तकालय
कर्णालीमा स्थापित पुस्तकालय कतिपय जिल्लाका कैदीबन्दीको पहुँचबाहिर छन् । रुकुम (पश्चिम), हुम्ला, डोल्पालगायत जिल्लामा कैदीबन्दीलाई पुस्तक पढ्न समस्या हुने देखिएको छ । रुकुममा कैदीबन्दी रहेको भवनभन्दा बाहिरको भवनमा पुस्तकालय स्थापना गरिएकाले आफ्नो पहुँचबाहिर पुस्तकालय रहेको कैदीबन्दीले बताएका छन् ।‘पुस्तकालय रहेको भवनभन्दा दुई पर्खालभित्र हामी छौं,’ कैदी सुविन्द्र घर्तीले भने, ‘हाम्रा लागि स्थापना गरिएको पुस्तकालय हाम्रो पहुँचबाहिर छ।’ रुकुम कारागारका लागि आठ सयबढी पुस्तक पुस्तकालयमा राखिएका छन्। पुस्तक पढ्न कैदीबन्दीले यहाँ रहेका प्रहरी वा नाइकेहरूको सहायता लिनुपर्ने देखिन्छ। कारागारमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ ।

कारागार नहुँदा समस्या
कर्णालीका १० वटा जिल्लामध्ये हुम्ला र मुगुमा कारागार छैनन्। हुम्लामा कारागार कार्यालयको एउटा कोठाभित्र पुस्तकालय स्थापना गरिएको छ भने मुगुमा प्रहरी कार्यालयभित्रै पुस्तकालय स्थापना गरिएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले कारागार भवन बन्दै गरेकाले कार्यालयको एउटा कोठाभित्र पुस्तकालय स्थापना गरिएको बताए । हुम्लाका प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले कारागार नहुँदा समस्या भएको बताए । ‘अदालतबाट फैसला भएका कैदीबन्दीलाई पनि यहाँ प्रहरी हिरासतमै राख्नुपर्ने बाध्यता छ,’ प्रहरी प्रमुख घर्तीमगरले भने, ‘तत्कालका लागि कारागार कार्यालयको एउटा कोठामा पुस्तकालय स्थापना गरेका हौं।’ कारागार शाखाका प्रमुख डब्बले रावतले विभिन्न्न विधा र लेखकका दुई सय ६ थान पुस्तक राखिएको बताए ।
नागरिकबाट

Womui
Womui